नेपालकै अग्लो स्थानमा मोटरबाटोः सडक सञ्जालमा जोडिदै मुस्ताङ र डोल्पा

निरज थकाली

मुस्ताङ

गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जिल्ला सडक सञ्जालमा जोडिने भएको छ। सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम सुरू गरेको हो।

यो सडक निर्माणका लागि बाग्लुङस्थित सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी आर्थिक वर्ष २०७६/७७ मा ११ करोड विनियोजन भएको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए।

बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्र्याक (मार्ग) खुलिसकेको छ। यो कच्ची सडकमा सवारी सञ्चालनसमेत भइरहेको छ ।

साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने अनुमान छ। साङ्ता गाउँ मुस्ताङको सबैभन्दा दुर्गम बस्ती हो। उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ। यो कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ।

सम्भवत यो नेपालकै सबैभन्दा अग्लो स्थानमा सडक बन्न लागेको हो। समुन्दर सतहदेख ५ हजार मिटर हाराहारीमा केही ठाउँ छुने गरी बन्न लागेको यो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको सडक हो।

मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका–५ का वडाध्यक्ष रप्की गुरुङले बताए ।

‘अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौं आवतजावत गर्न यो सडक छोटो हुन्छ’, उनले भने, ‘कृषि उपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्छ ।’ मुस्ताङको साङ्ता गाउँ, पाक्लिङ, फल्याक धाकरजोङको लाइफलाइन मानिने यो सडकको निर्माणले स्थानीयको जनजीवनमा आमूल परिवर्तनको अपेक्षा गरिएको छ। साथै मुस्ताङ हुँदै उपल्लो डोल्पा भ्रमणमा जाने पर्यटकको सङ्ख्यासमेत बढ्ने वडाध्यक्ष गुरुङले बताए।

यो सडकका निर्माणका लागि ११ करोड रकम बिनियोजन भएको छ।

सडक कार्यालय बागलुङका सब इन्जिनयर सगुन कुमार कार्कीका अनुसार विभिन्न ५ खण्डमा बनाइने सडकका लागि छुट्टा छुट्टै रकम बिनियोजन भएको छ।

एउटा खण्डका लागि ५ करोड, २-२ करोडका दुई खण्ड र १-१ करोडका २ खण्ड गरी पाँच खण्डमा सडक निर्माण हुन लागेको हो।

यही आर्थिक वर्ष भित्रमा कर्णाली प्रदेशको डोल्पा जोडिने संघीय सांसद प्रेम प्रसाद तुलाचनले जानकारी दिए। सांसद ततुलाचनले भौतिक पूर्वााधार मन्त्रालयबाट निर्वाचन क्षेत्रका लागि आएको १० करोड रकममध्ये ४ करोड रकमसमेत यही सडकको लागि छुट्टाएको जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-13 09:32:43

प्रतिकृया दिनुहोस्