किमकी बहिनीकाे धम्कीसँगै दुई देशबीच युद्ध हुने खतरा, जवाफ दिन दक्षिणले तयार पार्‍याे सेना

उत्तर कोरिया र दक्षिण कोरियाबीच बिबाद हुनु अब सामान्य बनेकाे छ। केही महिना अगाडि उत्तर कोरियाले  चेओरवोनमा रहेको सीमाक्षेत्रको दक्षिण कोरियाली सुरक्षा चौकीमा गोली प्रहार गरेको थियाे।

तर दक्षिण कोरियाले दोहोरो फयरिङ्गमा आफ्ना कुनै पनि सेनाको मृत्यु नभएको बतायाे। यसकाे लगतै दक्षिणलाई ‘शत्रु’का रुपमा परिभाषित गर्दै उत्तर कोरियाले सीमावर्ती शहर केइसङ्गमा रहेको सम्पर्क कार्यालयबाट हुँदै आएका ‘हटलाइन’सहितका सबै सञ्चार सम्पर्क बन्द गर्‍याे।

दुई कोरियाबिच सन् २०१८ मा भएको वार्तापछि तनाव कम गर्ने प्रयास स्वरुप सो कार्यालय स्थापना गरिएको थियो।

याे हटलाइन दुई देशका नेताबिच सिधा सम्पर्क स्थापित गर्ने मात्रै दरिलाे माध्यम थियाे। 

गएको जनवरीमा कोभिड–१९ का कारण सम्पर्क कार्यालय अस्थायी रुपमा बन्द गरिएको थियो। सो बेला फोनमार्फत् सम्पर्क स्थापित हुने गरेको थियो। सम्पर्क कार्यालयबाट दैनिक दुई पटक टेलिफोन हुने गरेको थियो।

तर दक्षिण कोरियालाई ‘शत्रु’ का रुपमा परिभाषित गर्दै उत्तर कोरियाले सञ्चार सम्पर्क बन्द गर्नु पहिलो चरणको काम रहेको बताएको छ।

यसै दिन उत्तर कोरियाका शासक किम जाेङ उनकी बहिनी किम यो जोङले सैन्य कारबाही हुने धम्की दिइन्। किम जोङ उनकी बहिनीलाई उनको अति विश्वासी सहयोगी मानिन्छ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएएनले शनिबार जारी गरेको विज्ञप्तिअनुसार उनले उत्तर कोरियाका सेनालाई जवाफी कारबाहीका लागि अधिकार दिने तयारीमा रहेको बताएकी छन्। 

उत्तर कोरियाको शक्ति संरचनामा नयाँ प्रतिष्ठा प्राप्त गर्न किम जोङ उनले कस्तो कारबाही गर्दै छन् भन्नेबारे उनले प्रस्ट पारिनन्, तर भनिन्, ‘मलाई लाग्छ, दक्षिण कोरियासँग सम्बन्ध ताेडिने उच्च सम्भावना छ, हामी चाँडै कारबाही गर्दैछौं।’

उनकाे धम्कीपछि दक्षिण कोरिया पनि प्रतिकार गर्न तयार भएको छ। दक्षिण कोरियाले आपतकालीन सुरक्षा बैठक राखेको छ।

उता दक्षिण कोरियाको राष्ट्रपति कार्यालय द ब्लुहाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपको परिस्थितिका विषयमा समीक्षा गर्दै यसको उचित जवाफ के हुन सक्छ भन्ने विषयमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन भिडियो बैठक आयोजना गरिएको बताएका छन्।

उत्तर कोरियासँगको सम्बन्ध हेर्ने मन्त्रालयले दुई देशबीचका सबै सम्झौता पालना गर्न प्रयास गरिने उनले बताए।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने स्थितिको गम्भीरता आकलन गरेर उत्तर कोरियाविरुद्ध सबै खालको जवाफ दिन आफ्ना सेना पनि तयार रहेको चेतावनी दिएकाे छ। 

प्रकाशित मिति: : 2020-06-15 07:55:09

प्रतिकृया दिनुहोस्