‘डेथबडी’ व्यवस्थापनका लागि तयारी रहन स्थानीय तहलाई आग्रह

रासस

खोटाङ

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले ‘डेथबडी’ व्यवस्थापन गर्न तयारी अवस्थामा रहन स्थानीय तहलाई आग्रह गरेको छ। विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण हुने डेथबडी व्यवस्थापन गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै समन्वय समितिले जिल्लाका १० वटै स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गरेको हो। 
 
समितिको १५औँ बैठकले डेथबडी व्यवस्थापन गर्नुपर्ने अवस्था आए सम्बन्धित स्थानमा घाट तोक्ने र त्यसका लागि सम्बन्धित स्थानीय तहले नै आवश्यक सामग्रीको व्यवस्था गर्ने वातावरण मिलाउन आग्रह गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले भने। 'विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको असर जिल्लामा पनि नपर्ला भन्न सकिन्न' उनले भने, 'यदि त्यस्तो भएको खण्डमा डेथबडी व्यवस्थापन गर्न जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र नेपाली सेनासँग आवश्यक समन्वय गर्न भनिएको छ।' 
 
यसैबीच समितिको उक्त बैठकले सरकारले लागू गरेको बन्दाबन्दीको समयमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न संयुक्तरूपमा बजार अनुगमन गर्ने निर्णय गरेको छ। बन्दाबन्दीको अवधिमा कतिपय व्यवसायीले धेरै मूल्य लिने गरेको र मिति नाघेका सामान बिक्री गरिरहेको जनगुनासोका आधारमा बजार अनुगमन गर्ने निर्णय गरिएको हो।

केही दिनभित्रै उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रशासन कार्यालय, प्रहरी, नगरपालिका, घरेलु तथा साना उद्योगको कार्यालयमार्फत बजार अनुगमन गर्ने निर्णय गरिएको समितिका संयोजक चाम्लिङले बताए। 'बन्दाबन्दीको अवधिमा पनि जिल्लामा आवश्यक दैनिक उपभोग्यवस्तु पर्याप्त रहेको पाइएको छ' उनले भने, 'पर्याप्त मात्रामा दैनिक उपभोग्यवस्तु हुँदाहुँदै पनि विभिन्न बहाना देखाएर हुनसक्ने कालोबजारी नियन्त्रण गर्न संयुक्तरूपमा अनुगमन गर्ने निर्णय गरिएको हो।' 
 
यस्तै सङ्क्रमितको सङ्ख्यालाई मध्यनजर गर्दै प्रत्येक गाउँपालिकामा १० श्यया, नगरपालिकामा २० श्यया तथा दिक्तेलमा प्रदेश सरकारको सहयोगमा ५० श्ययाको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरिएको छ। बैठकमा आर्थिक वर्षको अन्त्य हुन लागेको र लकडाउन पनि खुकुलो भएकाले जिल्ला बाहिर रहेका कर्मचारीलगायतलाई सकेसम्म रोक्ने र आउनैपर्ने भए अनिवार्य आरडिटी गराएर क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको समितिले जनाएको छ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण देखिएको छ। हलेसी तुवाचुङ नगरपालिकाका चार सङ्क्रमितमध्ये एक उपचारपछि घर फर्किएका छन् भने तीन जना उपचाररत रहेको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा शैलेश श्रेष्ठले बताए। 

प्रकाशित मिति: : 2020-06-16 09:18:17

प्रतिकृया दिनुहोस्