श्रमदानमा खट्दै भकिम्लीवासी

रासस

गलेश्वर

म्याग्दीको बेनी नगरपालिकाभित्रको जोखिमयुक्त सडकको रुपमा परिचित बेनी– बगरफाँट– दूधेखोला– भकिम्ली सडक स्तरोन्नतिका लागि भकिम्लीवासी बन्दाबन्दी र वर्षामासको समयमा पनि श्रमदानमा खटिरहेका छन्। 

पर्याप्त बजेट हुँदाहुँदै पनि विकास निर्माणका कैयौं योजना÷आयोजना सञ्चालन हुन नसकिरहेको अवस्थामा भकिम्लीमा भने जनस्तरबाट नै धमाधम काम भइरहेको छ। डेढदशक अघि  चन्दा सङ्कलन गरेर ट्र्याक खोलेको कच्ची र साँघुरो अवस्थाको दूधेखोला–हल्लेगौडा–डाँडाखानी–डोले हुँदै मुसुङ –भकिम्ली जोड्ने १३ किलोमिटर सडकमा चालु आर्थिक वर्षका लागि बेनी नगरपालिकाले ६० लाख बजेट विनियोजन गरेपछि थप स्तरोन्नतिको काम भइरहेको छ। 

भकिम्लीबासी सडकमा दैनिकजसो श्रमदान गरिरहेका छन्। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सडक स्तरोन्नतिसहित आवश्यक पूर्वाधारको काममा ढिलासुस्ती हुन थालेपछि भकिम्लीको टोल–टोल, बस्तीबाट समेत बिहानदेखि साँझसम्म सडक स्तरोन्नतिमा खट्ने गरेको वडाध्यक्ष पदम पुनले बताए। 

 ट्र्याक खुलेको डेढदशकपछि दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको स्तरोन्नतिले पछिल्लो दुई वर्षयता निरन्तरता पाइरहेको छ। स्तरोन्नति आसपासका बस्तीबाट हरेक घरधुरीले दुई दिन र माथिल्लो क्षेत्रबाट युवा, आमा समूहको नेतृत्वमा आएर एक दिन श्रमदान गर्ने काम भइरहेको छ।

 नगरपालिकाले विनियोजन गरेको ६० लाखबाट ढलान दुई सय मिटर, पक्की नाली ६०० मिटर, सोलिङ ३०० मिटर, कच्ची नाली ३०० मिटर, ग्याबिनजाली ३५० थान लगाइने छ। स्थानीयवासीले १० लाख हाराहारी जनश्रमदान गर्ने स्थानीयवासी यामबहादुर घर्तीले बताए।  

सडकमा राजनीतिक दलका कार्यकर्ता, विद्यालयका शिक्षकलेसमेत श्रमदान गरेका छन्। सडकलाई चार मिटरभन्दा बढी फराकिलो बनाउन थालिएपछि स्थानीयवासी उत्साहित छन्। साँधुरो घुम्तीसँगै जोखिमपूर्ण सडकले बस्ती आसपासमै दुर्घटना देखेका भकिम्लीबासीले गाउँसम्म पुग्ने सडकलाई नमूना बनाउने अभियानमा रहेका छन्। सडकको स्तरोन्नति गरिएपछि स्थानीयबासिन्दालाई आवतजावत, सामान ढुवानी गर्न, कृषि उपज निकासीमा सहज हुनुका साथै स्वर्गाश्रम र बेलढुङ्गामा पर्यटक भित्र्याउन सहयोग पुग्ने वडाध्यक्ष पुन बताउछन्। यो सडक बेनी नगरपालिकाको गौरबको योजनासमेत हो। 

घोडेपानीमा गुराँसपार्क 

गण्डकी प्रदेश सरकारले विदेशी पर्यटकका लागि प्रदेशकै पर्यटकीय आकर्षणको महत्वपूर्णस्थल म्याग्दीको घोडेपानीमा गुराँस पार्क बनाउने भएको छ। 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्राकृतिक सुन्दरताले विश्वभरी परिचित घोडेपानीमा गुराँसपार्क निर्माणका लागि बजेट विनियोजन गरेको गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा उल्लेख छ। 

अन्नपूर्ण चक्रीय पदमार्गले समेटिएको घोडेपानीमा गुराँसको संरक्षण गरी  पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ गुराँसपार्क बनाउन आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ। सोमबार आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले घोडेपानीमा गुराँसपार्कका साथै पोखरामा विश्व शान्ति जैविक विविधता उद्यान, पञ्चासेमा सुनाखरी पार्क र  भिमादमा वनस्पति तथा पक्षी उद्यानको लागि बजेटको व्यवस्था गरिएको जानकारी दिए।

विभिन्न प्रजातिका नौ थरिका गुराँसको फूल फुल्ने घोडेपानीमा लालीगुराँसको विशाल जङ्गल छ। आँखै अगाडि झलमल्ल हिमालका पङ्क्ति र चैत, वैशाखमा पाखैभरी ढकमक्क फुलेका लालीगुराँसले पर्यटकलाई लोभ्याउने गरेको घोडेपानीका होटल व्यवसायी तथा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर पुनले बताए। 

उनका अनुसार प्रदेश सरकारले घोडेपानीमा गुराँसपार्क बनाउने योजना ल्याएर निकै राम्रो काम गरेको छ। यसबाट प्रदेशमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उहाँको विश्वास रहेको छ।

प्रकाशित मिति: : 2020-06-16 13:14:47

प्रतिकृया दिनुहोस्