सडकको लापरवाहीले टेलिफोन र एडिएसएल सेवा अवरुद्ध

रासस

काठमाडौँ 

सडक विस्तारका क्रममा गोकर्णेश्वर नगरपालिका–४ चौतारा उकालोमा ढल बिच्छ्याउने क्रममा शनिबार बेलुकी नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा यस क्षेत्रको ल्यान्डलाइन टेलिफोन र एडिएसएल सेवा अवरुद्ध भएको छ। 

शनिबार बेलुकीदेखि अवरुद्ध भएको नगरपालिका–१, २, ३ र ४ गरी चारवटा वडाको सेवाका कारण एक हजार ६०० टेलिफोन एवं एडिएसएल सेवा अवरुद्ध भएको नेपाल टेलिकम जोरपाटी शाखाका प्रमुख खगेन्द्र कटुवालले जानकारी दिए। टेलिफोन सेवा अवरुद्ध हुँदा बन्दाबन्दीमा घरमै बसेर इन्टरनेट सेवाका माध्यमबाट काम गरिरहेका मानिस प्रभावित भएका छन्। 

घरमै बसेर काम गरिरहेका बेला पूर्वसूचना एक्कासि सेवा अवरुद्ध हुँदा दुःख पाएको स्थानीयवासी श्यामबहादुर श्रेष्ठले गुनासो गरे। निजी सवारी पनि जोर–बिजोर प्रणालीमा चलाउन पाइने भएकाले आजदेखि कसरी काम गने भन्ने चिन्ता बढेको उनको भनाइ थियो। ढल बिच्छ्याउने क्रममा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले समन्वय नगर्दा यो समस्या आएको टेलिकमले जनाएको छ।

जोरपाटी–सुन्दरीजल सात किमी सडक विस्तारका क्रममा हाल ढल बिच्छ्याउने, रूख काट्ने, पर्खाल लगाउनेलगायत काम भइरहेको छ। रूख काट्ने बेलामा खबर गरेकाले टेलिकमका कर्मचारीसँगसँगै बसेर काम भएकाले टेलिफोन सेवा अवरुद्ध नभएको कार्यालय प्रमुख कटुवालले सुनाए। 

विकास निर्माणका काममा सरकारी कार्यालयबीच नै समन्वय नहुँदा विद्युत्, टेलिफोन र खानेपानी जस्ता अत्यावश्यक सेवा पटकपटक अवरुद्ध हुने गरे पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन। यस सम्बन्धमा प्रतिक्रियाका लागि सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्। 

सुन्दरीजल क्षेत्रमा सडक विस्तारको काम गर्नु अघि गोकर्णेश्वर नगरपालिकाले समेत समन्वय गरेर पत्राचार गरेको थियो। यसपटक नगरपालिकाले पनि कुनै जानकारी नगराएको टेलिकमले जनाएको छ। नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना आयोजनाले समन्वय गर्न भनेका काममा सहयोग गरिएको बताउछन्। यसपटक आयोजनाले केही नभनेकाले के भएको आफूले बुझेर अवरुद्ध सेवा छिटो सञ्चालनका लागि पहल गर्ने उनको प्रतिबद्धता छ। नगरपालिकाले ढल बिच्छ्याइरहेकाले नयाँबस्ती क्षेत्रको ५०० लाइन टेलिफोन पनि अवरुद्ध भएको छ। सेवा अवरुद्ध हुँदा यस क्षेत्रमा पनि इन्टरनेटका माध्यमबाट काम गरिरहेका मानिस प्रभावित भएका छन्।

प्रकाशित मिति: : 2020-06-21 12:46:36

प्रतिकृया दिनुहोस्