पाकिस्तानमा बस र ट्रेन जुध्दा २० जना तिर्थयात्रीको मृत्यु

बिएल संवाददाता

इस्लामाबाद

पाकिस्तानमा एउटा यात्रुबाहक बसलाई शुक्रबार बाटो काट्नेक्रममा ट्रेनले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन् ।

यात्रुबाहक बसमा पाकिस्तानको पंजाबस्थित नानकाना साहिबबाट फर्कदै गरेका सिख तिर्थयात्री रहेको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् । उक्त बस रेलको लिक पार गर्नेक्रममा दुर्घटनामा परेको थियो ।

स्थानीय प्रहरीका अनुसार कराँचीबाट लाहोरतर्फ गइरहेको शाह हुसेन एक्सप्रेस ट्रेनले फारुकाबाद रेल्वे स्टेशन नजिक यात्रुबाहक बसलाई दिउँसो करिब १:३० बजे ठक्कर दिएको थियो ।

पाकिस्तानी अखबार दी डनका अनुसार दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएका छन् । घाइतेहरु सबैलाई शिखपुरास्थित जिल्ला अस्पतालमा भर्ना गरिएको छ । पाकिस्तानी रेल्वे मन्त्रालयले उक्त दुर्घटना शिखपुरा नजिकै भएको र मन्त्रालयले अनुसन्धान शुरु गरिसकेको जनाएको छ । 

बसमा करिब २५ जना यात्रारत थिए । उक्त बसका यात्रीहरु पेशावरतर्फको यात्रामा थिए । 

प्रकाशित मिति: : 2020-07-03 18:33:26

प्रतिकृया दिनुहोस्