खुमलटारमा प्रचण्डको ब्रिफिङ- प्रधानमन्त्री ओली पार्टी फुटाउने मनसायमा छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट कुनै पनि हालतमा राजीनामा नदिने मनासय रहेको भन्दै अध्यक्ष प्रचण्डले ओलीको नियत पार्टी विभाजन गर्ने रहेको बताएका छन्।

बालुवाटारमा ओलीसँगको भेटवार्तापछि आफ्नै निवास खुमलटारमा केही सचिवालयका नेताहरुलाई बोलाएर प्रचण्डले भेटवार्ताबारे ब्रिफिङ गरेका थिए। त्यसक्रममा उनले कुनै सहमति हुन नसकेको नेताहरुलाई बताएका हुन्।  

प्रचण्डको ब्रिफिङलाई उदृत गर्दै वरिष्ठ नेता झलनाथ खनालका अनुसार  प्रचण्डले ओलीसमक्ष दुवै पदबाट राजीनामा दिएर पार्टीलाई मार्गदर्शन गर्न अनुरोध गरे पनि ओलीले आफू दुवै पदबाट कुनै पनि हालतमा राजीनामा नदिने बरु आफै पार्टी विभाजन गर्ने बताएका थिए।

पुष्पकमल दाहाल र केपी ओलीबीच शुक्रबार साढे तीन घण्टा लामो छलफल भएको थियो। पार्टी एकताका बेलाका साक्षीद्वय विष्णु पौडेल र जनार्दन शर्मालाई सँगै राखेर पनि छलफल भएको थियो।

सुरुमा चार जना र पछि अध्यक्षद्वयबीच छुट्टै वार्ता चले पनि बैठकले कुनै समाधान निकाल्न नसकेको प्रचण्डले ब्रिफिङ गरेका छन्।

बालुवाटार बैठक सकेर खुमलटार पुगेलगत्तै अध्यक्ष प्रचण्डले गठबन्धनका नेताहरूलाई निराशाजनक खबर सुनाएको एक सचिवालय नेताले बताए।

‘बालुवाटार बैठकमा केही भएन । मिल्ने कुरै भएनछ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘प्रधानमन्त्रीको उद्देश्य पार्टी विभाजन नै गर्ने देखिन्छ।’

प्रचण्डसँगको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष त्याग्न तयार नरहेको भन्दै अघिल्लै दिनको अडान दोहोर्‍याएको ती नेताको दाबी छ।

उनले मङ्सिर ४ को सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै मिलन विन्दु त्यही भएको बताएका थिए ।

“उहाँले म प्रधानमन्त्री र पार्टी अध्यक्ष त्याग्ने पक्षमा छैन । मिल्न सकिँदैन भने विकल्प छन् भनेर घुमाउरो शैलीले पार्टी फुटाउन तत्पर छु भन्ने सन्देश दिनुभएछ । भोलि ९ बजे पनि बैठक बस्ने कुराकानी भएको रहेछ । तर, उहाँले सहमतिको प्रस्तावै ल्याउनुभएको छैन । बैठकको उपादेयता मैले खासै देखेको छैन,” सचिवालय सदस्यको भनाइ छ ।

यसअघि बिहीबारको स्थायी समिति बैठकले पार्टीभित्रको विवाद साम्य पार्न बैठक नै रोकेर दुई नेताबीच सहमति खोज्न समय दिइएको थियो । 

नेताहरुबीच विवाद कायमै रहेका बेला प्रम ओलीले बिहीबार स्थायी समिति बैठक र नेताहरुलाई छल्दै संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए । बिहीबार भएको दुई नेताबीचको कुराकानीमा पनि ओलीले दुवै पद नछाड्ने आवश्यक परे अरु विषयमा भने छलफल गर्ने बताएका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपा स्थायी कमिटी बैठक पनि २ जनाले बोलेर स्थगित गरिएको थियो । 

स्थायी समिति बैठक शनिबार पनि बैठक बस्दैछ । त्यसअघि पुन ओली र प्रचण्डबीच सहमतिको प्रयास गरिने प्रचण्डनिकट स्रोतले जनाएको छ । 

प्रकाशित मिति: : 2020-07-03 22:55:55

प्रतिकृया दिनुहोस्