ट्रम्पका जेठो छोराकी प्रेमिकालाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरा डोनाल्ड ट्रम्प जुनियरकी प्रेमिकालाई कोरोना भाइरसको संक्रमण भएको छ।

ट्रम्प जुनियरकी प्रेमिका किम्बर्ली गुइल्फोयलमा संक्रमण पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

उनी स्वतन्त्रता दिवसको कार्यक्रमका लागि ट्रम्प परिवारसँगै साउथ डकोटमा रहेकी छिन्। किम्बर्लीमा कुनै लक्षण देखिएको छैन।

यता उनका प्रेमी, ट्रम्प जुनियरमा भने अहिले कोरोना भाइरसको संक्रमण नदेखिएको जनाइएकाे छ। 

फक्स न्यूजकी पूर्व समाचार वाचिकासमेत रहेकी किम्बर्लीको प्रत्यक्ष सम्पर्क राष्ट्रपतिसँग नरहेको र उनी एअर फोर्स वानको विमानबाट यात्रा नगरेको पनि बताइएको छ। 

ट्रम्प भिक्ट्री फाइनान्स कमिटिका चिफ अफ स्टाफ सर्गिओ गोरले भनेका छन्, ‘ट्रम्प जुनियरमा हाल संक्रमण देखिएको छैन, तर सावधानीका लागि उहाँ पनि सेल्फ आइसोलेशनमा हुनुहुन्छ।’ 

किम्बर्ली ट्रम्पको चुनावी अभियान ट्रम्प भिक्ट्री फाइनान्स कमिटिकी राष्ट्रिय अध्यक्ष हुन्। उनी र ट्रम्प जुनियर चुनावी अभियानका लागि कोष जुटाउनका लागि सँगै देखिने गरेका थिए।

सर्गिओ गोरले सावधानीका लागि आउँदा कार्यक्रमहरु स्थगित गरिएकाे जानकारी दिए।

‘संक्रमण देखिए लगत्तै किम्बर्लीलाई अरुमा संक्रमण नफैलियोस् भनेर आइसोलेशनमा राखिएको छ। उहाँको अवस्था राम्रो छ। अब लगातार परीक्षण हुने र सावधानीका लागि आउँदा कार्यक्रमहरु स्थगित गरिएका छन्, ’सर्गिओ गोरले भने।

प्रकाशित मिति: : 2020-07-04 11:26:17

प्रतिकृया दिनुहोस्