बाँदरले अन्नबाली सखाप पार्न थालेपछि...

बिएल संवाददाता

अर्घाखाँची

खेतबारीमा लगाइएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि छत्रदेव गाउँपालिकाले किसानलाई मङ्की एयर गन वितरण गरेको छ।  

कृषकको गुनासोलाई ध्यानमा राखी  गाउँपालिकाका आठ वडामा पाँच थानका दरले बाँदर धपाउने यन्त्र वितरण गरिएको अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए।
 
'दैनिकजसो  किसानको अन्न बाली खाने र क्षति गरेकाले अन्नबाली संरक्षणका लागि कार्बन राखेर बन्दूक पड्काए जस्तो आवाज आउने र बाँदर  डराएर भाग्ने भएकाले मङ्की एयर गन वितरण गरिएको हो' गाउँपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत खिमानन्द भुसालले भने। 
  
जिल्लाका विभिन्न गाउँमा बाँदरले अन्नबाली  सखाप पार्दै आएको उनको भनाइ छ। अघिल्ला वर्ष छत्रदेव गाउँपालिकाले गाउँगाउँमा बाँदर हेरालुको व्यवस्था गरेको थियो। मकैबारीमा पसेको बाँदर लखेट्ने क्रममा गत वर्ष साउनमा मालारानी गाउँपालिकामा एक जनाले ज्यान गुमाएका थिए। 
 

प्रकाशित मिति: : 2020-07-04 18:35:51

प्रतिकृया दिनुहोस्