नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल जारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आइतबार पनि भेटवार्ता जारी छ। 

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहान साढे १० बजे बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री ओलीले आफैँ प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाडे बहुमतका बलमा हटाउने तयारी प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षको अडानका कारण नेकपा लगभग ‘फुट’ को संघारमा पुगेको छ।

तर प्रधानमन्त्री ओलीले दुवै पदबाट कुनै पनि हालतमा राजीनामा नदिने मनासय रहेको भन्दै अध्यक्ष प्रचण्डले ओलीको नियत पार्टी विभाजन गर्ने रहेको बताएका छन्। 

साेही बिवादलाई समाधान गर्न एक दिनका लागि स्थायी समितिको बैठकसमेत रोकेर दुई अध्यक्षबीच छलफल गर्ने बिहीबारको बैठकले गरेको थियो। तर दुई अध्यक्षबीचको छलफलबाट केही निश्कर्ष ननिस्किएपछि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २२ गतेसम्मका लागि स्थगन गरिएको छ। 

अब बैठक मङ्गलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। 

नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधनलगायत विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ।

बैठकमा ४५ स्थायी कमिटी सदस्य र पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र  लेखा आयोगका अध्यक्ष ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक र सल्लाहकार परिषद्का संयोजकसहित ५० जनाको सहभागी रहेको छ। बैठकमा अहिलेसम्म ३७ जनाले आआफ्नो धारणा राखिसकेका छन्। 

प्रकाशित मिति: : 2020-07-05 11:35:39

प्रतिकृया दिनुहोस्