विवाद मिलाउन बालुवाटारमा बसेको बैठक सकियाे, दुवै अध्यक्षबीच निर्णायक छलफल भाेलि हुने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद मिलाउन बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बैठक करिव डेढ घण्टा बसेर सकिएको हो। 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल भएकाे थियाे । 

आफू निकट नेताहरूसहित छलफलमा बसेका ओली र दाहालले सोमबारका लागि बोलाइएको स्थायी कमिटी बैठक पहिले फेरि दुवैजना बस्ने निर्णय गरेको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए । दुवै नेताबीच विवादित विषयमा छलफल भएको तर कुनै निर्णय भने ननिस्किएको उनले बताए ।

दुवै अध्यक्षबीच सबै विकल्प र सम्भावनाबारे छलफल गर्न सहमति भएको बताइएको छ । यता दुवैबीच राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्र भइरहेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल भएको थियो 

अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई केही कुरा नचलेको विषयमा र तयारी पनि नरहेको विषयमा कसरी कुरा आयो भनेर सोधेकाे उनले बताए।

पार्टी भित्रको मतभेदमा राष्ट्रपतिलाई मुछ्न नहुनेबारे अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्।

त्यस्तै, सडकमा भइरहेका गतिविधिले पार्टी एकता कमजोर बनाउने भन्दै त्यस्ता गतिविधि रोक्ने विषयमा दुवैबीच छलफल भएको सहभागी नेताहरूले बताएका छन् ।

बालुवाटारमा भएको छलफलमा ईश्वर पोखरेल, विष्णु पौडेल, वर्षमान पुन, शंकर पोख्रेल, जनार्दशन शर्मा सहभागी थिए ।

नेकपाले स्थायी कमिटी बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: : 2020-07-05 14:12:54

प्रतिकृया दिनुहोस्