अब मेलम्चीको पानी एकादेशको दन्त्य कथा जस्तो रहेन, छिट्टै जनताको घरघरमा पुर्‍याउँछाैं: मन्त्री मगर

खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्ञ्ची खानेपानी आयोजनाको पानी परीक्षण सुरु भएको जानकारी गराएकी छिन्।

आइतबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा बोल्‍दै उनले निकै लामो समय अन्योलमा परेको मेलम्ची आयोजनाको पानी परीक्षण सुरु भएको जानकारी दिएकी हुन्। 

उनले भनिन्, ‘अब मेलम्चीको खानेपानी एकादेशको दन्त्य कथा जस्तो रहेन। अब साउन महिनाभित्र मेलम्चीको पानी काठमाडौँको घरघरमा आइपुग्नेछ।’

उनले असार महिनाभित्र मेलम्चीको पानी काठमाडौमा झार्ने र साउनदेखि धारामा वितरण गर्ने बताइन्। तर मेलम्ची आयोजनामा अहिलेसम्म हेडवर्क्स तयार भएको छैन। यता डाइभर्सन सुरुङमार्फत मेलम्ची खोलाको पानी कफर ड्याम बनाएर भित्र हालिएको मात्रै हो।

मन्त्री मगरले पानीको आवश्यक टेस्टिङ प्रक्रिया सकेर आवश्यक नेतृत्वसँग छलफल गरेर छिट्टै उद्घाटनको मिति तय गर्ने जानकारी दिइन्। ‘एकपटक पानी खाली गरेर सुरुङको अवस्था जाँच गरिनेछ तर उद्घाटन गर्ने मिति टाढा छैन। छिट्टै मिति तय गरेर पानी जनताको घरघरमा पुर्‍याउन सुरु गछौँ,’ उनले भनिन्।

इटालियन कम्पनी सीएमसी गएपछि आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ। उनले भनिन्, ‘मेलम्ची आयोजना सम्पन्‍न गर्न निकै चुनौती तथा कठिनाइहरु भोग्नु पर्‍यो। तर हामी सफल भएका छौँ। छिट्टै काठमाडौँमा आउन्छ।’

तर विज्ञहरुले भने साउनमा पनि पानी आउने कुरामाथि शंका जनाएका छन्। मेलम्चीको पानी वितरण गर्न सहरका धेरै भागमा नयाँ लाइन जोडिएका छन्। आठवटा नयाँ ट्यांकीमा पानी पुर्‍याउन ठूला पाइपहरू जोडिएका छन्।

ट्याङ्की र वितरण पाइपलाइनको सफाइ गर्न नै तीन महिनाभन्दा बढी लाग्ने अनुमान छ। 

यता महाराजगञ्ज, धुम्बाराही, सामाखुसी, कलंकी क्षेत्रमा नयाँ पाइप राख्न बाँकी छ। 

यद्यपी मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी परीक्षण कार्य बिहान ९ः४५ बजेदेखि सुरु गरिएको छ। 

प्रकाशित मिति: : 2020-07-05 17:05:47

प्रतिकृया दिनुहोस्