कतारमा ५० प्रतिशत कामदार राखेर कम्पनी खोल्न अनुमति

दोहा कल्चरल भिलेजमा पर्ने समुन्द्री किनार। यो कतारमा बढी भीडभाड हुनेमध्येको ठाउँ हो। तस्वीरहरुः अल जजिरा

कतारमा बन्दाबन्दी खुकुलो बनाउन तेस्रो चरणमा सामुदायिक तथा निजी कम्पनीहरु ५० प्रतिशत कामदार राखेर खोल्न अनुमति दिइएको छ । ती कम्पनी खोल्न आवश्यकता अनुसार समय छुट्याइएको छ ।

यसले काममा जान नपाएका विदेशी कामदारलाई राहत हुने भएको छ । कोरोनाभाइरस संक्रमण फैलन नदिन कामदारहरुले कडा सुरक्षा नियम पालना गर्नुपर्नेछ ।

कतार सरकारले रेस्टुरेन्ट, समुन्द्र किनार, पार्क र मस्जिदहरु आंशिक खोल्न पनि अनुमति दिएको छ । बन्दाबन्दीलाई चार चरणमा हटाउने योजना अनुसार कतारको यो निर्णय आएको हो ।

गत हप्ता संकट व्यवस्थापन सम्बन्धि त्यहाँको उच्चस्तरीय समितिले १ जुलाईबाट संग्रहालय र पुस्तकालयहरु प्नि खोल्न दिने निर्णय गरेको थियो । तर सीमित क्षमता र सीमित समय मात्र खोल्ने अनुमति थियो ।

त्यसअघि गत महिना पहिलो चरणमा केही पसल तथा व्यापारिक केन्द्र खोल्न दिने निर्णय भएको थियो । अहिले तेस्रो चरणमा रेस्टुरेन्ट, पार्क र समुन्द्र किनार खोल्न दिएपछि त्यहाँ भिडभाड बढेको छ ।

लामो समयदेखि थुनिएका स्थानीय र विदेशी कामदार बाहिर निस्कन थालेका छन् । कतार गल्फ देशहरुमध्ये साउदी अरबियापछि दोस्रो धेरै प्रभावित मुलुक हो ।

कतारमा कूल संक्रमितको संख्या एक लाख नजिक पुगेको छ । त्यहाँ ९९ हजार ७९९ जना कूल संक्रमित छन् । तर निको हुने दर निकै उच्च छ । अहिलेसम्म ९२ हजार २८४ जना निको भएका छन् । १२८ जनाको भने मृत्यु भएको छ ।

उपचाररत संक्रमितको संख्या आठ हजार ६७३ छ । दैनिक संक्रमित भेटिने संख्या ५०० आसपास छ । २७ मेबाट त्यहाँ उपचाररत संक्रमितको ग्राफ तल झर्न थालेको हो । उक्त दिन सबैभन्दा बढी ३५ हजार ६३४ उपचाररत संक्रमित थिए ।

कोरोनाभाइरस संक्रमण नियन्त्रित अवस्थामा भएकै कारण कतारले बन्दाबन्दी हटाउन थालेको हो । तर, बाहिर निस्कन मास्क अनिवार्य गरिएको छ । पाँच जनाभन्दा बढी भेला हुन दिइएको छैन ।

प्रकाशित मिति: : 2020-07-06 12:26:45

प्रतिकृया दिनुहोस्