काठमाडौंमा एकैदिन भेटिए ५४ संक्रमित

काठमाडौं उपत्यकामा सोमबार एकै दिन थप ५४ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयले संक्रमित कुन कुन ठाउँका हुन् भन्नेबारे खुलाएको छैन। काठमाडौं उपत्यकाको समुदायमै संक्रमण फैलिए/ नफैलिएको भन्ने सम्बन्धमा मन्त्रालयले विभिन्न १० ठाउँबाट नमूना स्वाब संकलन गरी परीक्षण थालेको छ।

यी १० ठाउँमध्ये पहिलो चरणमा तीनकुने र नख्खुडालका २२८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको थियो। परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको गौतमले बताए।

अन्य विभिन्न ठाउँबाट पनि स्वाब लिने र परीक्षण गर्ने क्रम चलिरहेको उनले बताए। ‘अन्य ठाउँको पनि परीक्षण रिपोर्ट आउने क्रम जारी छ,’ उनले भने।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विज्ञहरूले समेत संक्रमण समुदायमा फैलिएको हुनसक्ने चेतावनी दिँदै आएका छन्।

मन्त्रालयले पनि उपत्यकामा संक्रमण जोखिम बढेको भन्दै परीक्षणको दायरा फराकिलो बनाउने जनाएको हो। अहिले पनि उपत्यकामा मात्र ११७ भन्दा बढी कोरोनाको 'एक्टिभ केस' रहेको रोग नियन्त्रण महाशाखाकाले जनाएको छ।

उनीहरूको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। संक्रमितमध्ये अधिकांश विदेशबाट आएका छन् भने १२ जना भन्दा बढी 'ट्राभल हिस्ट्री' नभएका व्यक्ति छन्।

यसरी कतै नगएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि उपत्यकामा लोकल ट्रान्समिसन फैलिँदै गएको र थप जोखिम बढ्दै गएको छ।

यहीँ जोखिमलाई लिएर मन्त्रालयले अस्पतालहरूमा परीक्षण बढाउने तयारी गरेको छ। साथै क्यान्सर, मधुमेहका विरामी र अस्पतालको आकस्मिक कक्ष तथा आइसियूमा भर्ना भएका बिरामीको पनि परीक्षण गर्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-06 17:50:13

प्रतिकृया दिनुहोस्