युवा तथा खेलकुद पत्रकारिता पुरस्कारबाट १० जना सम्मानित

युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुदको विकासको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ४ जनालाई र युवा पत्रकारिता पुरस्कारबाट ६ जनालाई सम्मान गरेको छ।

खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार ध्रुव तुलाधर, रोशन राउत, केशव पाठक र प्रियालक्ष्मी कार्की सम्मानित भएका हुन्। उनीहरुले जनही ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन्। यस्तै युवा पत्रकारिता पुरस्कारबाट खगेन्द्र अधिकारी, गीता चिमोरिया, रत्ना कुमारी चौधरी, शुष्मा बराली, निरज न्यौपाने र गंगा खड्का सम्मानित भएका हुन्।

खेल क्षेत्रको विकास, विस्तारका पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएबापत सम्मान गरिएको मन्त्री जगत विश्वकर्माले बताए। खेल क्षेत्रमा देखिएका समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याएर सरोकारवालाहरुको ध्यानाकर्षण गर्न र युवा क्षेत्रका समस्या उजागरका लागि पत्रकारिताको माध्यमबाट ठूलो योगदान पुर्‍याएको उनले बताए।

मन्त्रालयले आज नै एण्टी डोपिङ मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। नेपाली खेलकुद क्षेत्रको इतिहास र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली खेलाडीहरुले प्राप्त गरेका उपलब्धिहरुलाई प्रविधिको माध्यमबाट सो एपले सहयोग गर्ने मन्त्री विश्वकर्माले बताए।

विगतमा नेपाल सरकारले गरेको खेलकुद गतिविधहरु र नेपाली खेलाडीहरुले प्राप्त गरेको उपलब्धीहरुको अभिलेखिकरण नभएकाले त्यसलाई व्यवस्थित गर्न डिजिटल माध्यमको खाँचो भएको उनले बताए।

प्रकाशित मिति: : 2020-07-06 18:42:14

प्रतिकृया दिनुहोस्