अफगान सरकारले थप तालिबानीलाई रिहा नगर्ने: स्थानीय मिडिया

अफगानिस्तानको सरकारले देशको जेलमा रहेका र यहाँको सरकारले रिहा गर्न बाँकी रहेका तालिबानी लडाकूहरुलाई अब रिहा नगरिने जनाएको छ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले केही महिनायतादेखि अफगानिस्तानको जेलमा रहेका तालिबानी लडाकूहरुलाई रिहा गरिरहेका थिए। 

उनले करिब चार हजार जना तालिबानीहरुलाई रिहा गरिसकेकाे बताइएको थियो। उनले देशको जेलमा रहेका करिब पाँच हजार जना तालिबानहरुलाई रिहा गर्ने जनाएका थिए। 

तर पनि अब यो पछिल्लो लटमा रिहा गर्ने भनिएका करिब छ सय जना भने गम्भीर खालको अपराधमा संलग्न रहेकोले उनीहरुलाई रिहा नगरिने उनले बताएका हुन्। 

अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरुसँग सरकारले वार्ता गर्ने तयारी गरेको बताइएको छ। त्यसैले सो वार्ताको लागि पूर्व शर्तका रुपमा अफगानिस्तानको जेलमा राखिएका सबैजना आफ्ना सदस्यहरुलाई रिहा गर्नुपर्ने माग तालिबानी संगठनले गरेको छ।

यसै अनुरुप करिब चार हजारजना जति लडाकू रिहा गरिसकिएको भन्दै राष्ट्रपति घानीले अब बाँकीलाई भने उनीहरुले विगतमा गम्भीर अपराध गरेकोले रिहा नगरिने र उनीहरुलाई रिहा गर्ने माग नराख्न भन्दै यहाँको टोलो न्युजले जनाएको छ।    

अमेरिकाले अफगानिस्तानका तालिबानहरुसँग शान्तिवार्ता गर्ने पहल गरेको छ। केही महिनाअघि अमेरिकाले तालिबान र अफगानिस्तनको सरकारका प्रतिनिधिसँग पनि वार्ता गरेको थियो। 

कतारको दोहामा सो वार्ता भएको थियो। त्यस वार्ताका क्रममा तालिबानहरुले पनि आफूहरु शान्ति वार्ता गर्न तयार भएको बताएका थिए। आगामी दिनमा पनि तालिबानसँग शान्ति वार्ता गर्ने भएपछि उनीहरुले राखेका शर्त बमोजिम नै अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सैनिक घटाउने काम गरिरहेको बताइएको छ।

सोही बमोजिम अमेरिकाले पनि अफगानिस्तानमा रहेका आफ्ना सेनाहरुलाई फिर्ता गरिरहेको छ। जसका कारण पछिल्लो समयमा वार्ताको वातावरण पनि बनिरहेको बताइएको छ।

अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मी खलिलजादले पनि हालैमात्र अफगानिस्तानका तालिबानीहरु त्यहाँ शान्ति ल्याउनका लागि वार्ता गर्न तयार रहेको कुरा आफूले थाहा  पाएको बताएका थिए। 

शान्तिका लागि अफगानिस्तानका नागरिक, यहाँको सरकार र तालिबानीहरु स्वयं तयार नभएसम्म हुँदैन भन्दै त्यसका लागि उनीहरु तयार रहेको पाइएको उनले बताएका थिए।

प्रकाशित मिति: : 2020-07-07 13:52:15

प्रतिकृया दिनुहोस्