मिलानसँग युभेन्ट्सको लज्जास्पद हार

एजेन्सी

काठमाडाैं

इटालियन सिरी ए अन्तर्गत शीर्षस्थानमा रहेको साविक विजेता युभेन्ट्सले लज्जास्पद हार बेहोरेको छ।

मंगलबार एसी मिलानको घरेलु मैदान सान सिरोमा युभेन्ट्स ४-२ ले पराजित भयो।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।  

दोस्रो हाफको ४७ औं मिनेटमा फ्रान्सेली मिडफिल्डर एड्रीएन राबीओटले उत्कृष्ट गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए। 

अग्रता लिएको ५ मिनेटमा नै युभेन्ट्सले क्रिस्टियानो रोनाल्डोको गोलमा २-० ले अगाडी बढ्यो।

खेलको ६२ औं मिनेटमा घरेलु टोली मिलानले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले पेनाल्टी पायो।  फरवार्ड ज्लाटन इब्राहिमोभिचले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेलमा फर्कने संकेत दिए।

६६ औं मिनेटमा इब्राहिमोभिचको पासमा फ्रान्क केस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए। 

६७ औं मिनेटमा मिलानले अग्रता लियो। एन्टे रेबिचको पासलाई पोर्चुगिज फरवार्ड राफाएल लिआओले गोलमा परिणत गर्दै पुनरागमन भयाे।

८० औं मिनेटमा युभेन्ट्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै रेबिचले गोल गरे। 

हारका बाबजुद युभेन्ट्स अंक तालिकाको शीर्षस्थानमा ७ अंकले अगाडी रहेको छ। युभेन्ट्सको ३१ खेलमा ७५ अंक छ भने लाजियो ३१ खेलमा ६८ अंकसहित दोस्रो स्थानमा छ। मिलान भने ३१ खेलमा ४९ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2020-07-08 05:46:23

प्रतिकृया दिनुहोस्