म्याग्दी बाढीपहिरोले ३५ घर पुरिए, ३३ बेपत्ता

अविरल वर्षासँगै आएको बाढी र पहिरोले म्याग्दीमा ३३ जनाभन्दा बढी बेपत्ता भएका छन्। विभिन्न स्थानमा गरी ३५ घर पुरिएका छन् भने जोखिममा परेका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। 

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार पहिरोमा पुरिएर धौलागिरि गाउँपालिका ६ मराङमा २१, वडा नं ७ ताकममा ३, मालिका गाउँपालिका ७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ८ जना बेपत्ता छन्। मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता छन्।

त्यसै गरी मराङमा २०, ताकममा ५ र बिममा १० घर पहिरोमा पुरिएका छन्। मालिका गाउँपालिका ४ देवीस्थानमा पनि ५ घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।

राहुघाट खोलाको बाढीले रघुगंगा ८ मंगले क्षेत्रमा ८ घरमा क्षति पुर्‍याएको छ। म्याग्दी र राहुघाट खोलाको बाढीले जोखिम बढाएपछि सदरमुकाम बेनीको मंगलाघाटका ७ र रघुगंगा ३ गलेश्वरका २१ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। 

बाढीले गलेश्वरस्थित राहुघाट खोलाको बेलिब्रिज बगाउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ। पुल बगाएपछि बाढी पिप्लेगलेश्वर बस्तीतर्फ सोझिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।

यता  भारवाङस्थित शिवरात्री खोलामा रहेको ट्रस पुल बाढीले बगाएपछि आगमन नै ठप्प भएको प्रहरीले जनाएको छ।

त्यस्तै, बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बन्द भएको छ।

प्रकाशित मिति: : 2020-07-10 14:26:25

प्रतिकृया दिनुहोस्