पाल्पामा कृषि उपकरणको प्रयोग बढ्दो

रासस

रामपुर

पाल्पाका ग्रामिण क्षेत्रमा आधुनिक उपकरणको प्रयोग कृषि क्षेत्रमा बढेको छ। यसले कृषि उत्पादनसँगै समयको बचत र लागत कम पर्ने भएपछि कृषकहरु यान्त्रिकरणतर्फ आकर्षित भएका छन्। 

जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय निकायले कृषकलाई कृषि उत्पादन वृद्धि गराउन अनुदानमा कृषि यन्त्र वितरण गर्ने कार्यक्रम ल्याएपछि कृषक आधुनिक प्रविधिको प्रयोगमा आकर्षित हुँदै गएका हुन्।

खेतबारी खनजोत गर्न, तरकारी लगाउन, बालीनाली नियमित गोडमेल गर्न सजिलो हुने भएपछि कृषि यान्त्रिकरणको प्रयोग बढ्दो छ। सानो क्षेत्र, करेसाबारी, माथिल्लो बारीखण्डमा हाते ट्याक्टरको प्रयोग गर्ने गरिन्छ भने समथर भूभागमा पावर टिलरको प्रयोग गरिन्छ। लागत कम लाग्ने, कृषक आफैँले चलाउन सक्ने, व्यावसायीकरण र आधुनिकीकरणमा सहयोग, बाटोको निकास नभएको ठाउँमा पनि हाते ट्याक्टर लैजान सकिने हुँदा जिल्लामा कृषि उपकरणको प्रयोग बढ्दो रहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछन्।

 निस्दी गाउँपालिका ४ मित्यालका कृषक खमबहादुर सारु कृषि यन्त्रको प्रयोगले दुई वर्षअघि गाउँपालिकाले हाते ट्याक्टर अनुदानमा उपलब्ध गराएपछि खेतबारी खनजोत गर्न सजिलो भएको बताए। उनले आफैँले हाते ट्याक्टरबाट खेतबारी खनजोत गर्न थालेपछि कम समयमा धेरै काम र खर्च पनि कम भएको बताउछन्। 

हाते ट्याक्टरले खेतबारी खनजोत गर्दा डल्ला फोर्न, छेउ कुना खन्ने झण्झट हटेको निस्दी २ भाङ्गबारीका कृषक यमबहादुर मश्राङ्गी बताउछन्। हाते ट्याक्टर गाउँपालिकाले सहयोग गरेपछि बाँझिएका जग्गामा तरकारी लगाएर हराभरा पार्ने गरेको उनी बताउछन्। समयमा गोरु नपाइने समस्या र मेहेनत पनि धेरै नपर्ने हुँदा कृषि उपकरणको प्रयोगमा कृषकको आकर्षण बढ्दो छ। 

ज्ञान केन्द्र पाल्पाले चालु आवमा बगनासकाली गाउँपालिका–२ पोखराथोकमा करिब दुई हजार रोपनी क्षेत्रफलमा मकै बीउ उत्पादक ब्लक कार्यक्रम सञ्चालन गरेको छ। यहाँका २४३ घरधुरीका कृषकलाई प्रदेश सरकार र कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा मकै बीउ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, ब्लक क्षेत्रका कृषि यान्त्रिकरण प्रवद्र्धन र बीउ व्यावसायीकरणका लागि सहयोग गरिएको छ। 

खेतबारी खनजोत गर्न ६ थान हाते ट्याक्टर, १८ थान हातले मकै छोडाउने मेसिन, एक थान मकै छोडाउने विद्युतीय मेसिन, १०० थान कोदालो, १० थान कम्बाइन मिल, २९ थान स्प्रे, १८ थान डिजिटल तराजु, १०० थान सिडबिन, ५०/५० थान सानो हसिया र ठूलो हसिया वितरण गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए। 

उनका अनुसार निस्दी गाउँपालिका–४ स्थित धाक्रेदमार मकै पकेट क्षेत्रमा १७ थान हाते ट्याक्टर, एक थान कम्बाइन मिल, दुई थान विद्युत्तीय मकै छोडाउने मेसिन, ५२ थान कोदालो वितरण गरिएको छ। कूल २७४ रोपनी क्षेत्रफलमा सञ्चालित यस मकै ब्लक कार्यक्रममा २६ धरधुरीका कृषक छन्। 

झ्याङ्गला स्मार्ट कृषि गाउँ कार्यान्वयन समिति तिनाउ गाउँपालिका–२ मा यस आर्थिक वर्षमा प्रदेश सरकारको ६० प्रतिशत अनुदान सहयोगमा तीन थान हाते ट्याक्टर, एक थान कम्बाइन मिल वितरण गरेको केन्द्रले जनाएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रामपुर नगरपालिका–४ स्थित तल्लो वडभान चैते धान पकेट क्षेत्रका कृषकलाई उत्पादन वृद्धि गर्न विभिन्न कृषि उपकरण तथा औजार वितरण गरिएको छ। 

रामपुर नगरपालिका क्षेत्रमा खेतबारी खनजोत गर्न दुई सयको हाराहारीमा पावर टिलर तथा हाते ट्याक्टर कृषकले प्रयोग गर्ने गरेको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउछन्। निस्दी गाउँपालिकाले आधुनिक प्रविधिबाट खेती गर्न कृषकलाई उपकरण वितरणमा जोड दिएको छ। यो वर्ष गाउँपालिकाको सहयोगमा ११ वटा हाते ट्याक्टर, दुई वटा ठूलो ट्याक्टरबाट चल्ने थ्रेसर मेसिन वितरण गरिएको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउछन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धाक्रेदमार मकै पकेट क्षेत्रका कृषकले १७ वटा हाते ट्याक्टर पाएका छन्। 

गाउँपालिकाभित्र करिब १३६ वटा आधुनिक कृषि यान्त्रिकरण परिचालित छन्। गाउँपालिकाको धेरैजसो भू–भाग डाँडाभेग रहेकाले ठूला ट्याक्टर जान नसक्ने ठाउँमा हाते ट्याक्टरको राम्रो उपभोग भएको कृषि शाखा प्रमुख कोइरालाले बताए। 
 

प्रकाशित मिति: : 2020-07-10 14:49:09

प्रतिकृया दिनुहोस्