तेमालवासीलाई खानेपानी

रासस

बनेपा

 तेमाल गाउँपालिका वडा नं ५ याङवेलका तीर्थमान तामाङले अहिलेसम्म घरमा खानेपानी लिन दैनिक तीन घण्टा हिड्नुपर्छ। उनको जीवन यसरीनै चलेको छ। 

तेमालको सबैभन्दा अग्लोस्थान याङवेलका बासिन्दा उनले पिउने पानीका लागि घण्टौँको बाटो हिँडेर ल्याएको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ। लुगा धुन र बस्तुलाई ख्वाउन आकाशे पानीलाई पोखरी बनाएर जमाएको पानीले टार्दै आएको उनी बताउछन्।

घरदेखि टाढा रहेको धारामा पाउने पानी पनि गाउँभरिका मानिस जम्मा हुने गरेकाले बढीमा एक जनाको भागमा २० लिटर पुग्ने र त्यसका लागि पालो आउन त्यत्तिकै कुर्नुपर्ने बाध्यता रहेको तामाङले बताए। खानेपानीको चरम अभाव रहेको सो ठाउँका बासिन्दालाई पानी उपलब्ध गराउन गाउँपालिका र र शान्ति जनआदर्श सेवा केन्द्रको साझेदारी तथा थाइल्याण्ड सरकारको आर्थिक सहयोगमा सामुदायिक पूर्वाधार तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम युएनडिपीद्वारा सञ्चालित आयोजनाअन्तर्गत तेमालको विभिन्न स्थानमा खानेपानी र कृषि सहकारी भवन निर्माणका लागि सहयोग गरेको छ।

वडा नं ५ याङवेलको ८५ घरधुरीका लागि पनि यतिबेला खानेपानी उपलब्ध गराउन खानेपानी निर्माण उपभोक्ता समितिले पाइप बिछ्याउने र मुख्य ट्याङ्की निर्माणको कामलाई तीव्र गतिमा अगाडि बढाइरहेको छ। उपभोक्ता समितिका अध्यक्ष अशोक लामाका अनुसार करिब दुई किलोमिटर तल गिम्दीबाट लिफ्टिङ गरेर माथि याङवेल डाँडाका काकाकुल बासिन्दालाई खानेपानी खुवाउने उद्देश्यका साथ काम भइरहेको छ। पानीको चरम समस्या भोगिरहेका यहाँका बासिन्दा अहिले पनि खानेपानी लिन जानका लागि मात्रै पनि करिब डेढ घण्टाको बाटो हिँडेर घरदेखि तलको धारामा धाउनुपर्ने बाध्यता छ। 

उपभोक्ता समितिका सचिव एवं अर्का स्थानीय बासिन्दा बिर्चबहादुर तामाङले अहिलेको आयोजना सम्पन्न भएपछि दिनको तीन पटक समय मिलाएर आउने धारामा दिनको २० लिटर पानी उपभोग गर्न पाउने अवस्थाको अन्त्य हुने बताए। 'अब यो आयोजना सम्पन्न भएपछि याङवेल बासिन्दा खुशी हुने आशा लिएका छौँ' तामाङले भने। एउटा धाराबाट १६/१७ घरधुरीले उपभोग गर्नुपर्ने अवस्था रहेकामा अब आयोजना सम्पन्न भएपछि एक घरका लागि एक धारा उपलब्ध हुने उनले बताए।

त्यस्तै गाउँपालिका वडा नं ७ काल्धारका ११० घरधुरीका परिवारलाई खानेपानी उपलब्ध गर्न निर्माण भइरहेको पानी ट्याङ्की निर्माण र पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ। पहिलादेखि सामूहिकरुपमा उपभोग गर्दै आएको धारामा पानी अपुग भएपछि गाउँपालिका र थाइल्याण्ड सरकारको आर्थिक सहयोगमा सामुदायिक पूर्वाधार तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम युएनडिपीद्वारा सञ्चालित आयोजनाअन्तर्गत शान्ति जनआदर्श सेवा केन्द्रको साझेदारीमा नयाँ आयोजना निर्माण भइरहेको खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष बमबहादुर तामाङले बताए।

तेमालका अधिकांश स्थानमा खानेपानी अभाव झेलिरहेका बासिन्दाको अभाव पूर्तिका लागि मागका आधारमा खानेपानी आयोजना सञ्चालनका लागि गाउँपालिका र थाइल्याण्ड सरकारको आर्थिक सहयोगमा सामुदायिक पूर्वाधार तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम युएनडिपीद्वारा सञ्चालित आयोजनाअन्तर्गत शान्ति जनआदर्श सेवा केन्द्रको साझेदारीमा निर्माण कार्य भइरहेको केन्द्रका अध्यक्ष शङ्खबुद्ध लामाले बताए।

 उनका अनुसार अहिले तेमाल गाउँपालिकाको वडा नं ७ काल्धार, वडा नं ४ बोल्दे र वडा नं ५ को याङवेल लगायतका स्थानमा ‘एक घर, एक धारा’ उपलब्ध हुने गरी आयोजना सञ्चालन भइरहेको अध्यक्ष लामाले बताए।

काल्धारको आयोजनाअन्तर्गत गाउँपालिकाको सात लाख ९० हजार, थाइल्याण्ड सरकारको आर्थिक सहयोगमा सामुदायिक पूर्वाधार तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रमअन्तर्गत शान्ति जनआदर्श सेवा केन्द्रको साझेदारीमा युएनडिपीको पाँच लाख ९४ हजार र स्थानीय समुदायको तीन लाख ४६ हजार गरी कूल १७ लाख ३० हजारमा आयोजना सम्पन्न हुने भएको छ।

उता वडा नं ४ बोल्देमा पनि खानेपानी आयोजनाका लागि पुराना ट्याङ्कीलाई मर्मत गरी स्थानीय बासिन्दालाई खानेपानी उपभोग गर्न सहयोग गरिएको छ। गाउँपालिकाको छ लाख, थाइल्याण्ड सरकारको आर्थिक सहयोगमा सामुदायिक पूर्वाधार तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रमअन्तर्गत शान्ति जनआदर्श सेवा केन्द्रको साझेदारीमा युएनडिपीको तीन लाख ५० हजार र स्थानीय उपभोक्ता समितिको जनश्रमदान एक लाख ४७ हजार ७२६ गरी कूल १० लाख ९७ हजार ७२६ रुपैयाँ लागतमा सो ट्याङ्की मर्मत भएको हो। सो आयोजना सम्पन्न भएपछि २०७ घरधुरी लाभान्वित हुनेछन्।

खानेपानीसँगै वडा नं ३ को कुडुवालमा कृषि सहकारी संस्थाको भवन निर्माणका लागि सहयोग गरेको संस्थाले जनाएको छ। त्रिपक्षीय सहयोगमा वडा नं ३ को कुडुवालमा कुडुवाल कृषि सहकारी संस्थाको नयाँ भवन निर्माण भइरहेको हो। गाउँपालिकाको तीन लाख, थाइल्याण्ड सरकारको आर्थिक सहयोगमा सामुदायिक पूर्वाधार तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रमअन्तर्गत शान्ति जनआदर्श सेवा केन्द्रको साझेदारीमा युएनडिपीको चार लाख ६४ हजार ८८६ र उपभोक्ता समितिको एक लाख ९१ हजार २२१ गरी कूल नौ लाख ५६ हजार १०८ लागतमा भवन सम्पन्न हुने जनाएको छ। सहकारी संस्थामा १०७ घरधुरी आवद्ध छन्। 

गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले खानेपानी ट्याङ्की निर्माण, कृषि सहकारी भवन र खानेपानीसहित सिँचाइ पनि त्यहीबाट गर्न सकिने गरी शान्ति जनआदर्श सेवा केन्द्रको साझेदारीमा काम भइरहेको बताए।  सञ्चालन भइरहेको आयोजना यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ। 

प्रकाशित मिति: : 2020-07-10 15:03:49

प्रतिकृया दिनुहोस्