सीपीएलको ३३ खेल नै खाली मैदानमा, खेलाडी १४ दिन आइसोलेसनमा बस्नुपर्ने

एजेन्सी

त्रिनिदाद

त्रिनिदाद एण्ड टोबेगोमा १८ अगस्टदेखि १० सेप्टेम्बरसम्म क्यारेबियन प्रिमियर लिग (सीपीएल) सुरु हुने भएको छ। फाइनलसमेत ३३ खेल दुई वटा स्टेडियममा मात्र हुने र दर्शकको प्रवेशमा रोक लगाइने जानकारी आयोजकले दिएका छन्। 

सीपीएल र त्रिनिदाद एण्ड टोबेगो सरकारबीच भएको सम्झौंतामा लिगमा समावेश ६ फ्रेन्चाइज टिमका खेलाडी, टिम व्यवस्थापक र सदस्यलगायत अन्य कर्मचारीहरूले दुई साता आइसोलेसनमा बस्नु पर्ने नियमको पालना गर्नुपर्ने छ। 

यसबीच त्रिनिदाद एण्ड टोबेगो आउने सबै खेलाडीले दुईपल्ट कोरोना टेस्ट गर्नुपर्ने छ। पहिलो टेस्ट ७ र दोस्रो १७ दिनको आइसोलेसनको अवधि पुरा भएपछि गरिने छ। 

यस बाहेक सबै ६ टिमका खेलाडी तथा पदाधिकारीले त्रिनिदादको ‘बायो सेक्योर’ भएको होटलमा बस्नुपर्ने छ। सबै टिमलाई सानो–सानो ‘क्लस्टर्स’ मा बाँडिएको छ।

यदी खेलको अवधिमा कसैलाई कोरोना संक्रमण देखियो भने उनीहरूले ‘सेल्फ आइसोलेसन’ मा जानुपर्ने छ। जुन होटलमा खेलाडी बसोबास गर्छन, त्यहाँ बाहिरका मानिसलाई प्रवेश निषेध गरिएको छ। 

त्रिनिदादमा कोरोनाको १ सय ३३ संक्रमित फेला परेका छन्। यहाँ आठ जनाको निधन भएको छ। क्यारेबियाली मुलुकमा त्रिनिदाद सबैभन्दा कम कोरोना प्रभावित देश हो।

प्रकाशित मिति: : 2020-07-11 08:09:05

प्रतिकृया दिनुहोस्