विश्वकपको फाइनलमा तनाव कम गर्न स्टोक्सले चुरोट तानेको खुलासा

गत वर्ष विश्वकपको उपाधि निकै तनावपूर्ण माहौलका बीच जितेको इंग्ल्याण्डका अलराउन्डर बेन स्टोक्सको विषयमा एउटा खुलासा भएको छ।

न्युजिल्याण्डविरूद्ध सुपर ओभर खेल्नुअघि उनले तनाव कम गर्न चुरोट तानेको एउटा पुस्तकबाट सार्वजनिक भएको छ। 

इंग्ल्याण्डको जितसँग जोडिएको किताब ‘मोर्गन मेनः द इनसाइड स्टोरी अफ इंग्ल्याण्ड राइज अफ क्रिकेट वल्र्ड कप ह्युमिलिएशन टु ग्लोरी’ नामको किताबले स्टोक्समाथिको दबाबको बयान गरेको छ। 

निक होल्ट र स्टिभ जेम्सले लेखेको यो किताबमा सुपर ओभर अगाडि २७ हजार दर्शकले भरिभराऊ रंगशाला तथा सबैतिर जोडिएको टिभी क्यामराको बीच स्टोक्सलाई एकान्त भेटाउन निकै गाह्रो परेको बताइएको छ। 

किताबमा उल्लेख छ, बेन स्टोक्सले धेरै पल्ट लर्डस मैदानमा खेलिसकेका थिए। उनी यो मैदानको विषयमा राम्रो जानकार छन्। ड्रेसिङ रुममा इयोन मोर्गन तनाव कम गर्न सुपर ओभरको रणनीति बनाइरहेको बेला स्टोक्स बाथरुममा गएका थिए। यही उनले चुरोट तानेको बताइएको छ। 

यसअघि स्टोक्सले २ घण्टा २७ मिनेट ब्याटिङ गरेका थिए। उनी धुलो र पसिनामा भिजेका थिए। उनले ड्रेसिङ रुमबाट फर्किएपछि नुहाएको र चुरोट तानेको किताबमा उल्लेख छ।

विश्व कपको फाइनलमा स्टोक्सले अविजित ८४ रन बनाएका थिए। उनी फाइनलको म्यान अफ दि म्याच पनि चुनिए। उनले सुपर ओभरमा ८ रन पनि बनाए। 

गत वर्ष १४ जुलाईमा सम्पन्न फाइनल खेलमा धेरै बाउन्ड्री हानेको आधारमा इंग्ल्याण्ड विजयी भएको थियो। यो खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले ८ विकेटको क्षतिमा २ सय ४१ रन बनाएको थियो।

प्रतिउत्तरमा इंग्ल्याण्डले पनि त्यति नै रन बनायो। सुपर ओभरमा पनि दुवै टिमले १५–१५ रन बनाएका थिए। तर, आईसीसीको बाउन्ड्री नियमको आधारमा इंग्ल्याण्ड पहिलो पल्ट विश्व च्याम्पियन बन्यो।

प्रकाशित मिति: : 2020-07-14 16:56:27

प्रतिकृया दिनुहोस्