जापानमा ओलम्पिक रोकिएको रंगशालामा एथलेटिक्स खेल हुने

एजेन्सी

टोकियो

कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएको टोकियो ओलम्पिकको राष्ट्रिय रंगशालामा पहिलो पल्ट ट्याक एण्ड फिल्ड प्रतियोगिता आयोजना हुने भएको छ।

जापानको एथलेटिक्स संघले मंगलबार दिएको सूचना अनुसार २३ अगस्टमा यो रंगशालामा ‘दि गोल्डन ग्रान्ड प्रिक्स–२०२०’ को आयोजना हुनेछ। ओलम्पिकको परीक्षणको रुपमा मे १० मा यो खेल हुने तय थियो तर कोरोनाका कारण रद्द गरिएको थियो। 

यात्रा प्रतिबन्धका कारण प्रतियोगितामा जापानका खेलाडी मात्र सहभागी बन्ने जापान एथलेटिक्स संघले जानकारी दिएको छ। प्रतियोगितामा उच्चतहका खेलाडीबाहेक हाईस्कुलका च्याम्पियन खेलाडीको पनि सहभागिता रहनेछ। 

प्रतियोगिता हेर्न दर्शकले पाउने छैनन्। रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ। ओलम्पिक प्रतियोगिता एक वर्षको लागि लम्ब्याएर २३ जुलाईदेखि ८ अगस्टसम्म पुर्‍याइएको छ। 

टोकियो ओलम्पिकका लागि तयार पारिएको यो रंगशालामा ८७ प्रतिशत काठ प्रयोग गरिएको छ। ओलम्पिक स्थगित हुँदा जापानलाई लगभग ९० हजार करोड रुपैयाँको नोक्सानी भएको छ। साथै प्रतियोगिताका लागि जापानले थप ३२ करोड अतिरिक्त खर्च उठाउनु पर्ने भएको छ।

प्रकाशित मिति: : 2020-07-14 17:01:01

प्रतिकृया दिनुहोस्