तिरुपति बालाजी मन्दिरसँग नोटबन्दीमा परेको पाँच सय र हजारको ५० करोड रुपैयाँ

एजेन्सी

मुम्बई

भारतमा ५ सय र १ हजार रुपैयाँको नोटबन्दी भएको ४ वर्ष बितिसकेको छ। तर, पुरानो नोट अझैं फेला पर्न छोडेको छैन। यस्तै, एउटा घटना भारतको प्रतिष्ठित तिरुपति बालाजी मन्दिरमा भएको छ। 

आन्ध्र प्रदेशमा भएको यो मन्दिरमा पछिल्लो केही महिनायता दान तथा भेटीको रूपमा ५० करोड रुपैयाँको पुरानो नोट जम्मा भएको छ। तिरुपति ट्रस्टका अध्यक्ष वाइवी सुब्बारेड्डीले अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरेर पुरानो नोट परिवर्तन गरिदिन आग्रह गरेका छन्। 

कोरोना र लकडाउनका कारण तिरुपति मन्दिरमा पछिल्लो समय दानदक्षिणामा कमि आएको छ। यद्यपि ११ जुनमा मन्दिर खुल्ला भएपछि एक महिनामा १७ करोड रुपैयाँ दानबाट प्राप्त भएको थियो। 

यो केरोनाभन्दा अगाडि प्राप्त हुने दानको तुलनामा १० प्रतिशतभन्दा पनि कम हो। मन्दिरले आर्थिक राहतका लागि दानमा प्राप्त नोटबन्दीमा परेको ५ सय र १ हजार रुपैयाँको पुरानो नोट परिवर्तन गर्न सरकारसँग विशेष आग्रह गरेको हो। 

यी नोटहरू २०१६ मा नोटबन्दीपछि नोट परिवर्तन गर्न प्राप्त समय सीमा समाप्त भएपछि प्राप्त भएको हो। यसलाई राखिराख्न पनि ट्रस्टलाई टाउको दुःखाई भइरहेको थियो। 

मन्दिर श्रोतले नोटबन्दीको लामो समयसम्म पैसा आउने कार्य नरोकिएको बताएका छन्। लकडाउनका कारण यस विषयमा कुनै निर्णय भएको थिएन। मन्दिर ट्रस्टले विशेष अवस्थालाई ध्यानमा राखेर सरकारले पैसा परिवर्तन गरिदिएको खण्डमा मन्दिरले ठूलो राहत पाउने थियो।

प्रकाशित मिति: : 2020-07-14 17:08:08

प्रतिकृया दिनुहोस्