नवाजुद्दीनको श्रीमतीको आरोप–नवाजको अन्य केटीसँग पनि ‘अफेयर’ छ

एजेन्सी

मुम्बई

बलिउडका प्रतिभाशाली कलाकार नवाजुद्दीन सिद्दीकीको अन्य केटीहरूसँग पनि सम्बन्ध भएको आरोप उनको श्रीमती आलिया अर्थात अञ्जना आनन्द किशोर पाण्डेले लगाएकी छिन्। 

उनले जुन बेला आफूले उनीसँग ‘डेटिङ’ गरिरहेको थिए, त्यति बेला नवाजको अन्य केटीसँग पनि ‘अफेयर’ भएको बताइन्। उनले बिहेपछि पनि नवाजले अन्य केटीसँग सम्बन्ध राख्न नछोडेको आरोप लगाइन्। 

हाल उनी नवाजसँग सम्बन्ध बिच्छेद गर्ने अभियानमा छिन्। ‘पिंकभिला’सँग कुराकानी गर्दै उनले भनिन्, ‘हामी सन् २००३ देखि नै लिभ इनमा बस्न थालेका हौं। उनको भाई शम्स पनि हामीसँगै बस्थे। हामीले एउटै फिल्मबाट कामको सुरुवात गरेका थियौं। बिस्तारै हामीबीच प्रेम भयो र बिहे गर्ने निर्णय गर्यौं।’

उनले समस्या पहिलेदेखि नै भएको तर आफूसँग समाधान रहेको मनोगत विश्लेषणका बीच बिहे गर्ने निर्णय गरेको बताइन्। ‘तर, १५–१६ वर्ष बितिसक्दा पनि उनी सुध्रिएनन्। मलाई मानसिक तनाव दिने काम भयो,’ उनले भनिन्। 

आलियाले अन्य केटीसँगको सम्बन्धका कारण बिहे अगाडि पनि झगडा भएको खुलासा गरिन्। ‘हाम्रो बिहे हुने तय भइसकेको थियो तर नवाज अन्य केटीसँग पनि सम्बन्ध बनाइरहेका थिए,’ उनले आरोप लगाइन्। 

उनले बच्चा जन्मिने बेला पनि आफू एक्लै अस्पताल चेकअपका लागि जाने गरेको बताइन्। बच्चा जन्मिने बेला पनि म एक्लै थिए। ‘मेरो डाक्टरले मलाई भनेकी थिइन्, म दुनियाको एक्लो पागल महिला हुँ, जो डिलिभरीको समयमा पनि एक्लै अस्पताल भर्ना भए। जतिबेला मलाई एकदमै दुःखेको थियो, ऊ आफ्नो केटी साथीसँग घण्टौं कुरा गरेर बस्थ्यो। मलाई सबै थाहा थियो, किनभने फोनको बिलको स्टेटमेन्ट मसँग आइपुग्थ्यो,’ उनले आरोप लगाइन्। 

आलियाका अनुसार नवाजकै भाईले उनको स्वभावको विषयमा जानकारी दिएको बताइन्। ‘म उनीसँग ६ वर्ष बसे। उनको भित्र कुनै भावना नै छैन,’ उनले भनिन्। यस्तै साना–साना कुरा नै आफूले नवाजलाई छोड्ने कारण भएको बताइन्। 

नवाजको श्रीमतीसँगको विवाद २०१७ मा पहिलो पल्ट सार्वजनिक भएको थियो।

प्रकाशित मिति: : 2020-07-15 13:44:31

प्रतिकृया दिनुहोस्