ओबामा,बाइडन र बिल गेट्सलगायत ‘हाई प्रोफाइल’ अमेरिकीको ट्वीटर अकाउन्ट ह्याक

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकाका ‘हाई प्रोफाइल’ व्यक्तिहरुको ट्वीटर एकाउन्ट ह्याक भएको छ। यसमा अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा, नेता जो बाइडन, माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स, अमेजनका सहसंस्थापक जेफरी प्रेस्टन जस्ता धेरै उच्च अधिकारीको एकाउन्ट रहेको छ।

ह्याकरले उनीहरुको ट्वीटर ह्यान्डल ह्याक गरेपछि एउटा विशेष सूचना पोस्ट गरेर छाडेका थिए। उक्त पोस्टमा लेखिएको थियो, ‘हामी तपाईलाई ५ हजार बिटक्वाइन (सबैभन्दा महँगो भर्चुअल मुद्रा) दिनेवाला छौँ।’

बिल गेट्सको एकाउन्टबाट ट्वीट भएको छ, ‘सबैले यो समुदायलाई केही दिन भनेका छन्, र यो सही समय हो । तपाईँहरु एक हजार डलर पठाउनुस्, म दुई हजार डलर पठाउँछु ।’

यता एप्पलको आधिकारीक एकाउन्टबाट पनि यस्तै सूचना पोस्ट गरिएको थियो। ‘हामी हाम्रा शुभचिन्तकहरुलाई केही दिन चाहन्छौं। आशा छ तपाईले पनि सहयोग गर्नुहुन्छ। तपाईले पठाउनुभएको कुनै पनि बिटक्वाइनहरू डबल फिर्ता हुनेछ। यो केवल ३० मिनेटको लागि हो,’ लेखिएको थियो।

अमेरिकाको कार निर्माता कम्पनी टेस्लाका संस्थापक तथा सिइओ एलन मस्कको आधिकारीक एकाउन्टबाट पनि यस्तै सूचना पोस्ट गरिएको थियो। ‘कोविड–१९ बाट तपाईहरुले आर्थिक भार बोक्नु भएकोले म तपाईहरूको बिटक्वाइन डब्बल गर्दैछु। यो सबै सुरक्षित छ,’ लेखिएको थियो।

यस्तो सूचनाहरु लगालग धेरै प्रतिष्ठित कम्पनीहरूसँग जोडिएको व्यक्तिहरुहरुको ह्यान्डल पोस्ट हुन शुरू भयो। एप्पल, उबर लगायत अन्तर्राष्ट्रिय कम्पनीहरूको एकाउन्टबाट पनि बिटक्वाइन घोटालाको प्रयास गरिएको थियो। 

लगत्तै यो खुल्लिने वेबसाइटको डोमेन बन्द गरियो। सूचनाहरूबाट स्पष्ट हुन्छ कि यो क्रिप्टोकरन्सी घोटालाको उद्देश्यका लागि गरिएको थियो। यी पोस्ट केही समयपछि मेटाइएको थियो।

यस घटनापछि ट्वीटरको सुरक्षालाई लिएर केही प्रश्नहरू पनि उठाइएको छ। आखिर के कारण यति ठूलो ‘हाई प्रोफाइल’व्यक्तिहरुको ट्वीटर एकाउन्ट ह्याक भयो भन्ने कुराको छानबिन शुरु गरिएको छ।

बिल गेट्सका प्रवक्ताले समाचार संस्था एपीसँग भनेका छन्, ‘ट्वीटरले सामना गरिरहेको ठूलो समस्याको एक पक्षका रुपमा यो देखिएको छ।’

यद्यपी अहिले सबैकाे एकाउन्ट रिकभर गरिएकाे छ। ट्वीटरले उत्कृष्ट प्रयास गरी धेरै भेरिफाइड एकाउन्टबाट सोही प्रकृतिका ट्वीट हुनबाट रोकेको जनाएको छ। 

प्रकाशित मिति: : 2020-07-16 06:17:30

प्रतिकृया दिनुहोस्