कोरोनाभाइरसपछि चीनको अर्थतन्त्रमा वृद्धि, मन्दीबाट जोगियो

एजेन्सी

बेइजिङ

कोरोनाभाइरस लकडाउनका कारण संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनमा यो वर्षको पहिलो त्रैमासिकमा ठूलो मन्दीपछि दोस्रो त्रैमासिकमा ३.२ प्रतिशतले वृद्धि भएको छ।  सन् २०२० को पहिलो तीन महिनामा ६.८ प्रतिशतले ओरालो लागेको थियो।

बुधवार सार्वजनिक विवरणमा चीनको कुल गार्हस्थ उत्पादन जीडीपी एप्रिलदेखि जुनमा बढेको देखिएको छ। चीनले आफ्नो अर्थतन्त्र पुन: चालु गरेको अवस्थामा संसारले नै चीनको यो सङ्ख्यालाई कुरिरहेको थियो।

यो अङ्क विज्ञहरूले अनुमान गरेभन्दा बढी हो र यसले अर्थतन्त्र ह्वात्तै उकालो लाग्न थालेको सङ्केत गरेको छ।

योसँगै चीन प्राविधिक रूपमा आर्थिक मन्दीबाट जोगिएको छ। बीबीसी न्यूजका मारिको ओईका अनुसार चीनले अनपेक्षित रूपमा लकडाउनपछि अर्थतन्त्रमा सुधार गरेको हो।

जर्मन ब्याङ्कको एक अध्ययनमा चीनको अर्थतन्त्रको पुनर्उत्थान लगभग पूरा भएको उल्लेख गरिएको छ।

गएको मेमा कोरोनाभाइरस महामारीका कारण चीनले सन् २०२० को लागि आर्थिक वृद्धिको लक्ष्य नराख्ने बताएको थियो।

सन् १९९० यता चीनले वार्षिक वृद्धिको लक्ष्य नराखेको यो पहिलोपटक हो।

राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार यो वर्षको पहिलो छ महिनामा चीनको अर्थतन्त्र १.६ प्रतिशतले खस्किएको छ।

प्रकाशित मिति: : 2020-07-16 12:33:36

प्रतिकृया दिनुहोस्