ओली-प्रचण्डबीचको छलफल विना निश्कर्ष टुंगियो

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आज भएको छलफल पनि बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

दुई अध्यक्षको छलफलमा कुनै निष्कर्ष ननिस्किएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए। सहमतिका लागि प्रयास जारी छ रहेको भन्दै उनले आजको बैठक निचोडमा नपुगेको बताए।

यसैबिच भोलिका लागि निर्धारित स्थायी समिति बैठक नरोकिने भएको छ।

गत असार १८ गतेदेखि स्थायी समिति बैठक बस्न सकेको छैन। सहमतिका लागि भन्दै पटक पटक स्थगित भएको स्थायी समिति बैठक पछिल्लो पटक सात दिनका लागि स्थगित भएको थियो।

मंगलबार र बुधबार ओलीसँग भएको छलफलमा विवाद समाधानमा ठोस सहमति नभएपछि बिहीबार दाहालले नेपाललाई पनि छलफलका लागि लगेका थिए । दाहाल र नेपाल बालुवाटार जानुअघि दाहाल निवास खुमलटारमा यस समूहका सचिवालयका ६ नेताको बैठक भएको थियो ।

१० असारबाट जारी स्थायी कमिटी बैठकमा दाहाल र नेपालले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् । प्रधानमन्त्री ओलीले कुनै पनि पद नछाड्ने अडान दोहोर्‍यारहेका छन् ।

प्रकाशित मिति: : 2020-07-16 14:56:00

प्रतिकृया दिनुहोस्