बिश्व बैंकसँग ५४ अर्बको ऋण सम्झौता

नेपालको मुख्य दातृ निकाय विश्व बैंकसँग ५४ अर्ब रुपैयाँ बराबरको ऋण सम्झौता भएको छ। नेपाल सरकार र बैंकबीच उक्त ऋण सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिर ढुंगाना र बैंकका तर्फबाट नेपाल निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन्।
 
नेपालको सडक पूर्वाधार विकास गर्नका लागि बैंकको बोर्डले ४५ करोड अमेरिकी डलर ऋण अघिल्लो महिना स्वीकृत गरेको थियो।

यो ऋण साहयताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास हुने छ। कोरोनापछिको अवस्थामा अन्तरदेशीय व्यापार बृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायातको विकासका लागि खर्च हुनेगरी उक्त ऋण स्वीकृत गरिकएको बैंकले जानकारी दिएको छ।

नेपाल रणनीतिक सडक सञ्जाल र व्यापार सुधार आयोजनाका लागि स्वीकृत भएको यो ऋणबाट विशेषगरी नागढुंगा-नौविसे-मुगलिङ सडक खण्डको स्तरोन्नति तथा कमला-ढल्केबर-पथलैया सडक खण्डको स्तरोन्नतीको काम हुने छ। यी आयोजनाबाट नेपालको अन्तरदेशीय व्यापार सहजीकरण हुने, सुरक्षित सडक यातायात सुनिश्चित हुने तथा जनताले सहज सुविधा पाउने बैंकको विश्वास रहेको छ।

नेपालसँग गरिएको सम्झौतामा यो हालसम्मकै उच्च अंकको सम्झौता भएको बैंकले जानकारी दिएको छ।
 

प्रकाशित मिति: : 2020-07-17 14:55:33

प्रतिकृया दिनुहोस्