अक्सफोर्डको कोरोना भाइरस परीक्षण सफलतातर्फ, यही वर्षको अन्त्यमा ल्याउने तयारी

अक्सफोर्ड विश्वविधालयले तयार पारेको कोरोना भाइरसको भ्याक्सिनले दोहोरो सुरक्षा दिने दावी गरिएको छ। अनुसन्धानकर्ताको दावी अनुसार भ्याक्सिनको परीक्षणका क्रममा यो कुराको पुष्टी भएको छ। 

डेली टेलिग्राफका अनुसार पहिलो चरणको ट्रायलमा भ्याक्सिन दिने वित्तिकै इम्युन रिस्पोन्स निकै राम्रो भएको थियो। यस्तै ट्रायल गरिएका व्यक्तिको रगतको स्याम्पल परीक्षण गर्दा एन्टीबडीको निर्माण भएको र किलर टि सेल्सको विकास भएको पाइएको थियो। 

अक्सफोर्ड विश्वविधालयले पहिलो चरणको परीक्षण अप्रिलमा गरेको थियो। स्वास्थ्य सचिव म्याट हेनकोकले भ्याक्सिन विकास गर्न एउटा टिम लगातार कार्यरत रहेको बताए। 

उनले यो वर्षभित्र भ्याक्सिन उपलब्ध हुन सक्ने बताए। उनले यही वर्ष भ्याक्सिन सम्भव नभए २०२१ सम्म पुरा भइसक्ने जानकारी दिए। 

भ्याक्सिन परीक्षणका लागि स्विकृति दिने वर्कसायर रिसर्च इथिक्स कमिटीका अध्यक्ष डेभिड कारपेन्टरले आफूहरु वैज्ञानिकसँग मिलेर काममा लगातार खटिएको बताए। उनले भ्याक्सिन तयार गर्ने अभियानमा आफूहरु सकारात्मक दिशामा रहेको बताए। 

अनुसन्धानकर्ताहरुले अस्पताल र व्यवसायिक हेल्थ केयरमा भ्याक्सिन प्रयोग गर्ने लक्ष्य राखेको कारपेन्टरले बताए। उनले भ्याक्सिन कहिलेसम्म उपलब्ध हुने यसको जानकारी दिएनन्। तर, यो सेप्टेम्बरसम्म बजारमा आउन सक्ने सम्भावना रहेको छ। 

रिपोर्टका अनुसार अक्सफोर्डमा निर्माण हुन लागेको भ्याक्सिनले लामो समय इम्युनिटी दिन्छ कि दिँदैन, यो प्रमाणित भइसकेको छैन। तर, एन्टीबडी र टि सेल्स दुबैको संख्या शरीरमा बढेको देखिएको छ। यी दुबैको समिश्रणले मानिसलाई सुरक्षित राख्न सहयोग गर्छ। 

अहिलेसम्मको परीक्षण सकारात्मक भएको तर भविष्य थाहा नभएको चिकित्सकले बताएका छन्। 

फार्मा कम्पनी एस्ट्राजेनेकाले भ्याक्सिनको ४० करोड डोज तयार गर्न युरोको इन्क्लुसिभ एलाइन्ससँग सम्झौंता गरेको छ। भ्याक्सिनको ४० करोड डोज निःशुल्क उपलब्ध गराउने योजना रहेको छ।

अक्सफोर्डका अनुसार परीक्षणमा कुनै गम्भीर साइड इफेक्ट देखिएको छैन। थकाई लाग्ने, टाउको दुख्ने, चिसो लाग्ने र शरीर दुःखने जस्ता हल्का समस्या भने देखिएको छ।

प्रकाशित मिति: : 2020-07-17 21:50:09

प्रतिकृया दिनुहोस्