प्रधानमन्त्री ओलीको भगवान रामसम्बन्धि बयानपछि भारतको अयोध्यामा मन्दिर बनाउने अभियानले तीब्रता लिँदै

नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मलाई लिएर गरेको टिप्पणीपछि भारतको अयोध्यामा मन्दिर बनाउने कार्यलाई बल मिलेको छ।
 
केही दिनअघि आदिकवि भानुभक्त आचार्यको जन्म दिवसको अवसर पारेर प्रधानमन्त्री ओलीले भगवान राम जन्मिएको अयोध्या नेपालमै रहेको र वीरगञ्जको ठोरी नजिकै यो स्थान हुन सक्ने सम्भावनाको कुरा गरेका थिए।
 
नेपाली प्रधानमन्त्रीको यो भनाई बाहिर आएपछि भारतका सन्त र महन्त आक्रोशित बनेका थिए। यसैबीच भारतीय बौद्ध संघले अयोध्याको उत्खनन् गर्ने क्रममा भगवान राम जन्मिएको ठाउँमा बुद्धको प्राचिन मूर्ती भेटिएको भन्दै यो ठाउँ आफ्नो भएको दावी गरेका छन्। केही बौद्ध भिक्षुहरू अनसनमा समेत बसेका थिए। 

यही विवाद र अन्यौलताका बीच शनिबार दिउँसो तीन बजे राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको बैठक बस्ने भएको छ। बैठकमा मन्दिर शिलान्यासको मिति घोषणा हुने सम्भावना प्रबल मानिएको छ। 

नेपाली प्रधानमन्त्रीको बयानले आगोमा घ्यु थपिएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अयोध्या पुग्ने सम्भावना पनि प्रबल बन्दै गइरहेको छ। 

ट्रस्टका अध्यक्ष महन्त नृत्यगोपाल दासले विभिन्न भारतीय अखबारहरूलाई जानकारी दिने क्रममा भनेका छन्, प्रधानमन्त्री मोदीलाई अयोध्या आउन निमन्त्रणा पत्र पठाइसकिएको छ। 

बैठकका लागि ट्रस्टका अन्य सदस्य अयोध्या पुगिसकेका छन्। मणिराम छावनी मठका महन्त कमल नयन दासले प्रधानमन्त्री मोदी ३ वा ५ अगस्टमा अयोध्या आउन सक्ने र भारतीय प्रधानमन्त्रीको आगमनसँगै मन्दिर निर्माणको कार्य सुरु हुने दावी गरेका छन्। 

प्रधानमन्त्री मोदी यसअघि नै अयोध्या आउने कार्यक्रम तय थियो तर कोरोना संक्रमणका कारण कार्यक्रम बीचमा रद्ध गरिएको हो। 

रामलला मन्दिरका मुख्य पुजारी सत्येन्द्र दासले ट्रस्टको बैठकमा प्रधानमन्त्री मोदीको कार्यक्रम तय हुने विश्वास गरे। बाबरी मस्जिदका पक्षमा रहेका इकबाल अन्सारीले पनि भारतीय प्रधानमन्त्रीको स्वागतका लागि आफूहरू तयार भएको प्रतिक्रिया दिएका छन्। 

सर्वोच्च अदालतले राम जन्मभूमिमा मन्दिर बनाउने निर्णय गर्दा मस्जिद समाजलाई पनि ५ एकड भूमि उपलब्ध गराउन सरकारलाई आदेश दिएको थियो।

प्रकाशित मिति: : 2020-07-18 13:16:00

प्रतिकृया दिनुहोस्