टिक टकमा चर्चा कमाएका सचिन, सुशान्त राजपूत प्रेरित फिल्मको हिरो

एजेन्सी

मुम्बई

गत महिना आत्महत्या गरेका बलिउडका युवा कलाकार सुशान्त सिंह राजपूतको कथामा आधारित फिल्मको मुख्य भूमिका सचिन तिवारीले गर्ने भएका छन्। 

टिक टकबाट चर्चामा आएका सचिनको अनुहार सुशान्तसँग मिल्दो छ। गत महिना १४ जुनमा सुशान्त मुम्बईस्थित आफ्नै घरमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। उनका परिवार तथा शुभचिन्तकहरू सुशान्तको आत्महत्यालाई हत्याको दाबी गर्दै आइरहेका छन्।

मुम्बई पुलिसले पोस्टमार्टम र विसरा रिपोर्टको आधारमा सुशान्तको निधनलाई आत्महत्या नै भन्दै आइरहेको छ। तर, उनलाई आत्महत्याका लागि अन्य व्यक्तिले उकासेको भन्दै सीबीआई छानवीनको माग पनि उठेको छ। 

यस्तो अवस्थामा ‘सुसाइड और मर्डरः अ स्टार वाज लस्ट’ शीर्षकमा फिल्म बन्न लागेको हो। यसको निर्देशन समिक मौलिकले गर्दैछन्। यही वर्ष क्रिसमसको बेला ओटीटी प्लेटफर्म वीएसजी विञ्जमा यो फिल्म सार्वजनिक हुनसक्छ।

वीएसजीले सोशल मिडियामा फिल्मको पहिलो लुक सार्वजनिक गरेको छ। जसमा सचिनलाई बलिउडको आउटसाइडरको रूपमा दर्साइएको छ। पोस्टको क्याप्सनमा लेखिएको छ, ‘छोटे से कस्बेका एक लडका फिल्म इन्डस्ट्रीमे चमकता सितारा बन जाता हे। यस उसकी कहानी है। एक आउटसाइडर के रूपमे पेश हे सचिन तिवारी। बीएसजी विञ्ज पेश करत हे सुसाइड ओर मर्ड। विजय शेखर गुप्ताद्धारा प्रोड्युज्ड और समिक मौलिकद्धारा निर्देशित। संगीत श्रद्धा पण्डित ने दिया हे।’

यसअघि सोशल मिडियामा सुशान्त जस्तै देखिएका कारण सचिन भाइरल भएका थिए। 

इन्डियन एक्सप्रेस पत्रिकासँग कुराकानी गर्दै विजय शेखरले भनेका छन्, ‘यो फिल्मको माध्यमले यस्तो मानिसको कथा देखाउन खोजिरेका छौं, जो सानो शहरबाट फिल्मी क्षेत्रमा आउँछन्। जसको कुनै गडफादर हुँदैन त्यसैले उनीहरूले निकै दुःख गर्नुपर्छ।’

उनले बाहिरबाट बलिउडमा प्रवेश गर्ने मानिसको साँचो तस्विर उजागर गर्ने बताए। उनले फिल्म सुशान्तको बायोपिक नभएको स्पष्ट पारे। तर, कथा उनीबाट प्रभावित भएको उनको भनाई थियो। सुटिङ मुम्बई र पञ्जावमा हुनेछ। सेप्टेम्बरसम्म फिल्म तयार भइसक्ने उनले बताए।

प्रकाशित मिति: : 2020-07-21 09:09:45

प्रतिकृया दिनुहोस्