आन्तरिक उडानको लागि बुद्ध एयरको बुकिङ खुला, कम भाडादरमा उडान गर्ने तयारी

भदौ एक गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका  नियमित  उडान पुनः सुचारु गर्ने मन्त्रिपरिषदको निर्णय पछि बुद्ध एयरले आन्तरिक उडानको लागि बुकिङ खुला गरेको छ।

बाढीपहिरो कारण सडकमार्ग प्रभावित हुँदा विकल्पका लागि आन्तरिक हवाई यातायात नै बिकल्प भएको  कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए। उनले भदौ १ सम्म पनि नलम्ब्याई तत्काल हवाई सेवा संचालन गर्न समेत सुझाव दिए।

भदौ एक गते देखिको उडानका लागि टिकट बुकिङ सुरु गरेको कम्पनीले केही दिनमै योजना सार्वजनिक गर्ने पनि उनले बताए। केही दिन देखि भैरहेको निरन्तर वर्षातका कारण सडकमार्ग अवरुद्ध भइरहेका कारण विकल्पका लागि आन्तरिक हवाई यातायात तत्काल सुरु गर्न आवश्यक देखिएको उनको भनाई छ। नियमित उडान सुरु भएलगत्तै कम्पनीले कम भाडादरमा यात्रुलाई सेवा दिने योजना बनाएको पनि प्रवन्ध निर्देशक बस्नेतले बताएका छन्।  

‘हामी चार महिनादेखि उडान संचालन नगरी बसेका छौँ। थप २४ दिन उडान बन्द गरेर बस्न पनि सक्छौँ। तर अहिले विभिन्न राजमार्गमा आएको पहिलोका कारण सडकमार्ग यात्रा गर्न गाह्रो परिरहेको देखिएको छ,’ कम्पनीका प्रवन्ध निर्देशक बस्नेतले भने, ‘सरकारको भदौ एक बाट उडान सुचारु गर्ने निर्णय सराहनिय छ। अहिलेको परिस्थितीमा राज्यलाई सहज होस् भन्ने मात्र हाम्रो उद्देश्य हो।’      

सेफ्टी प्रोटोकल कार्यान्वयन गरी  हवाई यातायात संचालनको तयारी भैरहेको उनले बताए। उडान संचालन गर्दा कोरोना नियन्त्रण तथा रोकथामका लागि सम्पूर्ण स्वास्थ्य सुरक्षा अवलम्बन भइसकेको उनको भनाई छ। कम्पनीका अनुसार टिकेटिङ प्रक्रियादेखि जहाजबाट ओर्लिएसम्म सुरक्षा अवलम्बन गर्नेछ।

‘प्राकृतिक प्रकोप कहिले, कहाँ, कसरी, कुन अवस्थामा हुने हो भन्न सकिन्न। तर हरेक नागरिकको दैनिक जीविकोपार्जनलाई मध्यनजर गर्दै सरकारले विकल्प सोच्नुपर्ने अवस्था आएको छ।’ उनले भने।

भदौदेखि उडान सुरु गर्ने निर्णयप्रति हवाई व्यवसायी उत्साहित देखिएका छन्। उडानका लागि विभिन्न कम्पनीले विश्व नागरिक उड्डयन संगठन, नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै आफ्नै निर्देशिका तयार पारिसकेको जनाएका छन्।

कोभिड-१९का कारण सरकारले गत वर्ष चैत पाँच गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो भने नियमित आन्तरिक उडानमा एघार गतेदेखि प्रतिबन्ध लगाएको थियो

प्रकाशित मिति: : 2020-07-22 08:56:59

प्रतिकृया दिनुहोस्