थबाङले असल अभिभावक गुमायो, अलबिदा! बर्मन बुढा

रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ। उनको आज बिहान ४:३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

आन्द्राको क्यान्सर भएको एक वर्षअघि रोग पत्ता लागेपछि काठमाडौँमा बसेर उनले उपचार गराइरहेका थिए।  केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना भएका उनको आज बिहान निधन भएको हो।

स्व बुढा विसं २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। रोल्पाको थवाङ घर भएका बुढालाई रोल्पाको कम्युनिष्ट पार्टीको संस्थापक मानिन्छ। लामो समय मन्त्री रहेका राप्रपा नेता बालाराम घर्तीमगरलाई हराउँदै विसं २०४८ को संसदीय निर्वाचनमा पहिलोपटक बुढा सांसद निर्वाचित भएका थिए। यसअघि उनी थवाङको मुखिया, प्रधानपञ्चको रूपमा लामो समय राजनीतिमा क्रियाशील थिए।

प्रतिनिधिसभा बैठकमा थवाङको स्थानीय भेषभुषा कछाड लगाएर उपस्थित भएर चर्चामा रहेका स्व बुढाको विसं २०५२ को सशस्त्र युद्धपछि भने राजनीतिमा क्रियाशीलता कम हुँदै गएको थियो। कठिन परिस्थतिमा समेत रोल्पामा कम्युनिष्ट पार्टी निर्माण गरेको भन्दै रोल्पामा नेता बुढालाई आदर्श मान्ने गर्दछन्। उनी दुई वर्षअघि राष्ट्रका लागि योगदान गरेको भन्दै राष्ट्रपतिबाट विभूषितसमेत भएका थिए।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताएका छन्। एक वक्तव्य जारी गर्दै उनले नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको बताएका हुन्।

‘सामन्तवाद विरोधी मुक्तियुद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहनुभएको थियो, उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ’, वक्तव्यमा अध्यक्ष दाहालले भनेका छन्, ‘सङ्घर्षका प्रेरणादायी अभिभावक बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’ उनले शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा पनि समवेदना प्रकट गरेका थिए।

बुधबारै उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो। बुढालाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा लगायत कम्युनिस्ट विचारधारा राख्ने नेता कार्यकर्ताहरु पशुपति आर्यघाट पुगेका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्नि सापकोटा, पूर्वसभामुखद्वय कृष्ण बहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रीहरु रामबहादुर थापा, वर्षमान पुन, शक्ति बस्नेत, पूर्व मन्त्री गणेशमान पुन र दलजित सिर्पाइलीलगायतका नेताहरु बुढालाई अन्तिम श्रद्धान्जली दिन पशुपति आर्यघाट पुगेका हुन्।

नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगर, नेकपा नेता सुरेश आलेमगर, मोहन बिक्रम सिंहलगायतका नेता कार्यकर्ता र रोल्पाका स्थानीय आफन्त र परिवारका सदस्यहरू अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट पुगेका थिए। 

बुढाको पार्थिव शरीरमा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

हेर्नुहोस् आर्यघाटका तस्बिरहरू

प्रकाशित मिति: : 2020-07-22 15:05:10

प्रतिकृया दिनुहोस्