कोरोनाको भ्याक्सिन २०२१ सम्म असम्भवः डब्ल्यूएचओ

एजेन्सी

जेनेभा

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सन् २०२१ सम्म कोरोनाको भ्याक्सिन सम्भव नभएको स्पष्ट पारेको छ। 

बेलायतको अक्सफोर्ड विश्वविधालय, अमेरिका, रुस तथा चीनले कोरोना भाइरसको भ्याक्सिन छिट्टै बजारमा ल्याउने अड्कलबाजी चलिरहेको बेला डब्ल्यूएचओको यो भनाई बाहिर आएको हो। 

डब्ल्यूएचओले बुधबार भन्यो, ‘हामीलाई २०२१ अगाडि भ्याक्सिन बन्छ भन्ने आशा छैन। यदी सोधकर्ताले छिट्टै भ्याक्सिनको आविस्कार गरेपनि अघिल्लो वर्षको सुरुवातमा मात्र यो उपलब्ध हुनेछ।’

डब्ल्यूएचओका कार्यकारी निर्देशक माइक रेयानले भ्याक्सिन निर्माणमा केही ढिलो भएपनि सुरक्षित हुनुपर्ने स्पष्ट पारे। 

कोरोनाका कारण हाल विश्वमा १ करोड ५३ लाख ६३ हजार ९ सय ७१ जना संक्रमित भइसकेका छन्। जसमा ६  लाख २९ हजार २ सय ९२ जनाको निधन भएको छ। ९३ लाख ४३ हजार ५ सय संक्रमितले भने स्वास्थ्य लाभ गरिसकेका छन्। 

रेयानले कोरोना भाइरसविरूद्धको भ्याक्सिन निर्माणमा राम्रो नतिजा आइरहेको पनि जानकारी दिए। उनले भने, ‘अहिले भ्याक्सिन परीक्षणको तेस्रो चरणको काम भइरहेको छ। यसमा असफलता देखिएको छैन। शरीरले पनि राम्रो प्रतिक्रिया दिइरहेको छ।’

उनले समाजका हरेक तह र तप्काका लागि भ्याक्सिन सहज रूपमा पुर्याउन आफूहरू प्रयासशील रहने जानकारी दिए। ‘हामी यसमा निश्चिन्त हुनुपर्छ किनभने यो विश्वव्यापी औषधी हो। महामारीको यो भ्याक्सिन धनी र गरिबका लागि मात्र होइन। सबैका लागि हो,’ उनले स्पष्ट पारे। 

पिफिजर इन्क र जर्मन बायोटेकले परीक्षण गरिरहेको भ्याक्सिन पूर्ण रूपमा सफल भएको खण्डमा अमेरिकी सरकारले १ सय मिलियन डट्सका लागि १ दशमलव ९५ बिलियन डलर खर्चिने बताइएको छ। 

रेयानले स्कुल खोल्दा निकै सावधानी अपनाउन आग्रह गरेका छन्। स्कुलबाट समाजमा कोरोना भाइरस फैलिने सम्भावना बलियो रहने उनको भनाई छ। उनले समाजमा कोरोनालाई नियन्त्रणमा राखिएको खण्डमा स्कुल खोल्न कुनै समस्या नहुने पनि स्पष्ट पारेका छन्। 

अमेरिकामा कोरोनाको महामारीले बितण्डा मच्चाएको बेला सरकारले शिक्षा क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउने विषयमा बहस चलिरहेको छ।

प्रकाशित मिति: : 2020-07-23 08:00:20

प्रतिकृया दिनुहोस्