चन्द्रागिरिमा ‘एक घर, एक धारा’

रासस

काठमाडौँ

चन्द्रागिरि नगरपालिकाले सबै वडामा ज्येष्ठ नागरिक र अपाङ्गमैत्री उद्यान निर्माण गर्ने भएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा ज्येष्ठ नागरिक विश्रामस्थललाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ। वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको चन्द्रागिरिमा १५ वडा रहेका छन्। 

ज्येष्ठ नागरिकको अनुभव उच्च राख्न ज्येष्ठ नागरिक सम्मान, अनुभव ग्रहण तथा देशदर्शन गराउनुका साथै अपाङ्गता भएका व्यक्तिका अभिभावकलाई मनोसामाजिक परामर्श तथा सीपमूलक तालीम र रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने नगरप्रमुख प्रमुख घनश्याम गिरील बताए। 

नगरपालिकाभित्र ज्येष्ठ नागरिक भवन निर्माण भइसकेको र ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापनाको कार्यलाई समेत निरन्तरता दिइरहेको उनले जानकारी दिए। 

 नगरपालिकाले अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको व्यवसाय दर्ता निःशुल्क गर्नुका साथै अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने नीति लिएको छ। 

यातायात कम्पनीको सहकार्यमा ज्येष्ठ नागरिकको लागि अधिकतम विशेष सहुलियत दरमा यातायात सुविधा उपलब्ध गराउन लाग्नुका साथै नगरपालिकाभित्रको सार्वजनिक पूर्वाधार अपाङ्गमैत्री बनाउन विशेष जोड दिने नगरपालिकाले जनाएको छ। 

दिगो विकासको लक्ष्यअन्तर्गत ‘एक घर, एक धारा’ को नीति अवलम्बन गर्ने भएको छ। नगरपालिकाभित्रका सबै बासिन्दालाई स्वच्छ पिउने पानी उपलब्ध गराउनका लागि आर्थिक वर्ष २०७७/०७८ मा उक्त नीति अवलम्वन गरेको हो। 

सरकारले लिएको शून्य फोहर अवधारणालाई अवलम्बन गरी ‘स्वस्थ र स्वच्छ’ नगर कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख  गिरीले जानकारी दिए। आकाशे पानी सङ्कलन र पुनः प्रयोग कार्यक्रमलाई अगाडि सारेको छ।
  
जलस्रोतसम्बन्धी कानून तयार गरी लागू गर्ने तयारीसमेत गरेको नगरपालिकाले नगरपालिकाभित्र रहेका सार्वजनिक ढुङ्गेधारा, इनार, कुवा, पोखरी तथा मुहानलाई संरक्षण गर्ने भएको छ। 

यस्तै, नगरपालिकाभित्र डिप बोरिङबाट वातावरण सन्तुलनमा प्रभाव पर्ने भएकाले निजी तथा व्यावसायिक डिप बोरिङलाई पूर्ण निषेध गरेको छ। उक्त नगरपालिकाले नक्सा पास गर्दा सेप्टि ट्याङ्की र सोकपिटलाई अनिवार्य गरेको छ।  

मुख्य राजमार्ग र मुख्य चोकमा आवश्यकताअनुसार सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। नदी, खोला, सार्वजनिकस्थल, बाटो आदिलाई सबै प्रकारका फोहरमैला निषेधित क्षेत्र कायम गर्ने र सार्वजनिकस्थलमा प्रदूषण गर्ने कार्यलाई निषेधित गर्दै कानूनी दायरामा ल्याइने नगरपालिकाले जनाएको छ। 

बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनालाई चन्द्रागिरि नगरपालिकाभित्र विस्तार गर्नसमेत नगरपालिकाले पहल गर्ने भएको छ। नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र विधिवत्रुपमा दर्ता भएका गैरनाफामूलक सञ्चालित खानेपानी उपभोक्ता समितिलाई प्राविधिक सहयोग नगरपालिकाबाट उपलब्ध गराउन लागिएको जानकारी दिए ।

 खानेपानी उपभोक्ता समिति, खानेपानी व्यवसाय र पानी ट्याङ्कर व्यवसायलाई खानेपानी व्यवस्थापन ऐन बनाई सो ऐनअनुसार दर्ता, सञ्चालन, नियमन र कारवाही गरिने नगरपालिकाले जनाएको छ। 

प्रकाशित मिति: : 2020-07-24 09:38:26

प्रतिकृया दिनुहोस्