अध्यक्ष र प्रधानमन्त्री परिवर्तनको विषय महाधिवेशन र संसद लैजाऔं : बिन्दा पाण्डे [अन्तर्वार्ता]

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक महिनायता जारी छ। तर, बैठक बसेर समस्या समाधानका उपाय खोज्नुभन्दा स्थगित हुनु यसको विशेषता बनेको छ। बैठकका अन्य एजेन्डाभन्दा प्रधानमन्त्री र पार्टी अध्यक्षको रुपमा केपी ओलीको राजीनामा मुख्य विषय बनिरहेको छ।

पहिलो र दोस्रो तहका नेताहरुको भेटवार्ता चलिरहेको छ, सहमतिको सूत्रको खोजी पनि चलिरहेको छ। तर, यो बैठकको निष्कर्ष कस्तो आउला भन्नेमाचाहिँ अन्याेल यथावत् छ। अर्कोतिर, प्रधानमन्त्री अनेक विवादमा फसिरहेका छन्। उनका अभिव्यक्ति विवादमा पर्ने गरेको छ। यी र यस्तै विषयमा नेकपा केन्द्रीय सदस्य बिन्दा पाण्डेसँग नेपाल लाइभका वीरेन्द्र ओलीले गरेको कुराकानीः

कोरोनाको महामारी, बाढी पहिरो  र सलहको विनाश चलिरहेको छ। नेकपा भने सत्ताको दाउपेचमा किन अल्झेको?
म यसलाई दाउपेच भनेर त स्वीकार गर्दिनँ। पार्टीभित्र बहस हुनु स्वाभाविक हो। नेकपाको विधान अनुसार हुनुपर्ने बैठक समयमा भएन भन्ने  हाम्रो कुरा हो। स्थायी कमिटी तीन र केन्द्रीय कमिटी ६ महिनामा बस्नुपर्ने वैधानिक व्यवस्था छ। अहिले मुलुकको अवस्था र स्थायी कमिटीमा जे छलफल भइरहेको छ, त्यसमा तादाम्यता मिलेको छैन।

यतिखेर पार्टीभित्र र नेतृत्वका बीचमा धेरै असहमति हुन सक्छन् तर यो उपयुक्त समय हो कि होइन? जनताले बहुमत दिएर पठाएको दलले जनताको समस्यामा केन्द्रित भएर बहस गर्नुपर्ने थियो। कोरोनाको महामारीका विषयमा केन्द्रित हुनुपर्ने बहस अहिले नेतृत्व कसको र भागबन्डा कसरी गर्ने भन्नेमा भएको छ, जुन समय सान्दर्भिक भएन।

प्रकाशित मिति: : 2020-07-27 08:44:22

प्रतिकृया दिनुहोस्