‘कोरोना महामारीले विश्वका सबै व्यक्तिलाई विभाजित गर्‍यो’

एजेन्सी

जेनेभा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारीले विश्वका सबै व्यक्तिलाई विभाजित गरेकाे बताएका छन्।

कोभिड–१९ को स्वास्थ्य आपतकाल अहिलेसम्मकै सबैभन्दा गम्भीर स्वास्थ्य समस्या र गम्भीर विपद रहेको बताउँदै उनले भने, ‘कोभिड–१९ ले हाम्रो विश्वलाई परिवर्तन गर्‍यो । यसले मानिसहरु, समुदायहरु र राष्ट्रहरुलाई एक ठाउँमा ल्याएको छ । र यसले सबैलाई विभाजित पनि गराएको छ।’

पछिल्लो ६ हप्तामा संक्रमितको संख्या लगभग डबल भएको उनले बताए । विश्वले भाइरससँग लड्नका लागि राम्रो प्रयास गरेको भए पनि अझै पनि कोरोना भाइरसलाई जित्नका लागि लामो बाटो तय गर्न बाँकी नै रहेको डा. टेडरोजले बताएका छन् ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६३ लाख ९६ हजार भन्दा बढी पुगेको छ । 

यस्तै कोभिड–१९ बाट अहिलेसम्म विश्वभर ६ लाख ५१ हजार ९ सय भन्दा धेरैको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

आकश्मिक बैठक बस्दै

डब्लुएचओले यो हप्ता कोरोना भाइरसका कारण घोषित स्वास्थ्य आपतकालको अहिलेसम्मको अवस्था मुल्यांकनका लागि आकश्मिक बैठक बस्दैछ ।

डब्लुएचओले यसअघि इबोला (दुई पटकको महामारी), जिका, पोलिओ र स्वाइन फ्लू का बेला विश्वव्यापी स्वास्थ्य आपतकाल लगाएको छ।

डब्लुएचओका महानिर्देशक डा.  टेडरोजले भनेका छन्, ‘जब मैले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वाथ्य आपतकाल घोषणा गरेको थिएँ त्यो बेला चीन बाहिर १०० भन्दा कम केस थिए संक्रमणका र कसैको मृत्यु भएको थिएन।’

स्मरण रहाेस् चीन लगायत केही देशमा काेराेनाले महामारीकाे रुप लिन थालेपछि ३० जनवरीमा डब्लुएचओलर् आपतकाल घाेषणा गरेकाे थियाे। 

प्रकाशित मिति: : 2020-07-28 07:54:07

प्रतिकृया दिनुहोस्