घर जाने आशाले बोकाएको एसिडको बोतल

करीव १५ वर्षका थिए फैयाज आलम। मध्यम परिवारका आलम रोजगारीका लागि भारतबाट नेपाल छिरे। मोहम्मद आलमले काम लगाइदिने भन्दै काठमाडौं ल्याए, आफूसँगै राखे र सहारा दिए। त्यति मात्र होइन सिपसमेत सिकाए। कालिगढ बनाए। 

१५ वर्षको नाबालक केटो अहिले २३ वर्षको मस्त युवक भएको छ। तर पहिचान अब कालिगढमा मात्र रहेन। तिनै कालिगड बनाएका मोहम्मदले अर्को ट्यागसमेत झुन्डिने गरी कर्म होइन, कुकर्म सिकाए।

फैयाज आलम (मुन्ना) गत बिहीबार बाफलमा २२ वर्षीय युवतीमाथि एसिड आक्रमण गरेको आरोपमा समातिएका छन्। 

बिहीबार साँझ ७ बजेर ५५ मिनेटमा वाफलमा दही किन्न निस्किएकी युवतीलाई उनकै कोठा नजिकै एसिड प्रहार गरेका थिए।

‘त्यो केटीलाई रक्सीले हान है। म तँलाई घर जाने व्यवस्था गर्दिन्छु, २५ हजार रूपैयाँ पनि दिन्छु’, कारखाना मालिक आलमले उनलाई अह्राएका थिए। 

सुरूमा मुन्नाले केही इन्कार गरे। तर उनले रक्सी न हो भन्ने कुराले विश्वस्त हुँदै घर जान पाउने भएपछि उनी तयार भए। 

८ वर्षदेखि आलमसँगै बसेका मुन्ना उनका सबैभन्दा विश्वास पात्र थिए। आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेकी ओखलढुङ्गाकी २२ वर्षीय युवतीलाई मुन्नाकै भरमा आलमले एसिड हान्ने योजना बनाएका थिए। जसको मतियार बने मुन्ना।

‘लामो समयदेखि घर जान नपाएका मुन्नालाई घर जान पाउने र साथमा पैसा पनि पाउने भएपछि फुरूङ्ङ भएर रक्सी त हो के हुन्छ भनेर घटना घटाएको देखियो’, अनुसन्धानमा खटिएका एक प्रहरीले बिएल नेपाली सेवासँग भने।

बिहीबार साँझ रक्सीको बोतलमा कारखानाको ट्वाइलेटमा हाल्न राखेको एसिड राखे। साढे ६ बजेतिर आलमले मुन्नालाई आफ्नो मोटरसाइकलमा राखेर बाफल पुर्‍याए।

प्रहरीको बयानमा आलमले भनेका छन्, ‘पहिले नै एसिड ल्याएको थिए। गिलासले बोतलमा राखेर लगेको हुँ।’

मुन्नाले बाइकमा बस्दासमेत रक्सी भए अलिकति खानसमेत भनेको प्रहरीलाई बयान दिएका छन्। आलमले मुन्नालाई युवती आउने वाफल नजिकैको ठाउँमा छोडेका थिए। त्यसपछि आलम युवती लिएर गए। पछि युवतीलाई फेरि त्यही ठाउँमा छोडेर आएपछि एसिड हान्ने योजना थियो।

युवतीलाई त्यही ठाउँमा छोडेको जानकारी आलमले मोबाइलबाट मुन्नालाई दिए। केही समयदेखि बाटो कुरेर बसेका मुन्नाले युवती आउने बित्तिकै मौका छोपेर एसिड हाने। बोतलको मुख सानो भएकाले त्यसको छिर्काले मुन्नाको हातसमेत पोल्यो। त्यसपछि मात्र उनले आफूले छ्यापेको रक्सी नभएर अरूनै भएको जानकारी पाए।

‘सुरूमा मलाई रक्सी भनेर हानेको त्यो चिज एसिड हो भन्ने थाहा थिएन, जब मेरो हातमासमेत पोल्न थाल्यो अनि मात्र मलाई यो त रक्सी होइन भन्ने लाग्यो’, मुन्नाले प्रहरी बयानमा भनेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा अहिलेसम्म मुन्नालाई एसिड भन्ने थाहा नभएको देखिएको छ। 

त्यसपछि काम फत्ते भएको जानकारी मुन्नाले फोनमा आलमलाई दिए। योजना अनुसार आलम मुन्नालाई कुरेर बसका थिए। त्यहाँबाट मोटरसाइकलमा हालेर मुन्नालाई कारखानामा ल्याएर रक्सी खुवाए। जिउँका कपडा फुकालेर फाल्न लगाए।

मुन्नाले रक्सीको बोतल खोलामा फ्यालिसकेका थिए। प्रहरीले अहिलेसम्म एसिड बोकेको बोतल फेला पारेको छैन। कारखाना पुगेपछि उनले सिम कार्ड फ्याले।

घटना लगत्तै प्रहरीले तत्काल अनुसन्धान सुरु गर्‍यो। 

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको संयुक्त टोली खट्यो। सिसिटिभी फुटेज हेर्‍यो। अरू अनुसन्धान गर्‍यो।

राति ११ बजेतिर प्रहरी उनीहरूको गार्मेन्ट कारखानामा पुग्यो। त्यहाँ आलम र उनकै कारखानामा काम गर्ने फैयाज आलम सँगै थिए। प्रहरीको अनुसन्धानमा उनीहरूले नै युवतीमाथि तेजाब हानेको देखिएको थियो। भारतको बिहारका फैयाजको हातमा पनि तेजाब लागेको थियो।

‘केही ढिला भएको भए मुन्ना भारत छिरिसक्ने थिए। आलमले घटनापछि गाडीको व्यवस्था गरेर भारत पठाउने तयारी गरेका रहेछन्। शुक्रबार बिहान ४ बजे गाडीमा जाने तयारी भइसकेको थियो। उसलाई भारत जाने सबै तयारी भएको थियो। ढिलो भएको भए समात्न निकै ग्राह्रो हुन्थ्यो’,  एक प्रहरी अधिकृतले भने।

उनीहरु दुई जनालाई नै प्रहरीले बिहिबार राति नै डल्लुबाट समातिसकेको छ। युवतीको कीर्तिपुरमा उपचार भइरहेको छ।

यो पनि

प्रकाशित मिति: : 2020-07-28 14:59:00

प्रतिकृया दिनुहोस्