सञ्चालन भएनन् महोत्तरीका अवरुद्ध सडकखण्ड

रासस

जलेश्वर

लगातारको वर्षा र बाढीका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको महोत्तरी जिल्लाको मुख्यमुख्य सडकखण्ड अझै सञ्चालन भएका छैनन्। दिनरात जुनसुकै समयमा पनि पटक–पटक लगातारको भीषण वर्षा र जिल्लाको आधा दर्जनभन्दा बढी नदीमा आएको बाढीका कारण ठाउँठाउँमा क्षतिग्रस्त भएको जिल्लाको जलेश्वर–बर्दिवास, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत सदरमुकामलाई राजमार्ग तथा अन्य जिल्लासँग जोड्ने सबै सडकखण्ड लामो समयदेखि अवरुद्ध रहेका छन्।

जिल्लाका प्रायः सबै सडकखण्डमा स्तरोन्नतिको काम भइरहेका बेला अबिरल वर्षा र पटक–पटकको बाढी आएर सडकमा कटान र डुबान गरेपछि सडक क्षतिग्रस्त भएर आवतजावत अवरुद्ध भएको छ। जिल्लाको एक सडक बाहेक सबै सडकखण्ड अहिले अवरुद्ध रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए। 

अब विस्तारै सबैतिर पसेका बाढीका पानी घटेको, नदीका बहाव कम भएको र दुई/तीन दिनदेखि घाम पनि लागिरहेका कारण ती सबै सडकखण्ड खुलाउनका लागि आवश्यक पहल गरिएको र सम्बन्धित निकायले कामकाज गर्न तयार समेत भएको उनले बताए। जिल्लाको विभिन्न भागमा पटक–पटक भएको भीषण वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटोमा सानो सवारी साधन टेम्पु, अटोरिक्सा र मोटरसाइकल चलाउने अवस्था नभएपछि जिल्लाका सबै बाटो अवरुद्ध भएको छ।

अध्यक्ष मण्डलका पत्नी र छोरासहित तीन घाइते

टाटासुमोले ठक्कर दिँदा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलकी पत्नी र छोरासहित तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा अध्यक्ष मण्डलकी पत्नी बीनादेवी, छोरा प्रिन्सराज मण्डल र भतिज राज मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकबहादुर विष्टले बताए।
    
घाइतेमध्ये उनकी पत्नी बिना र छोरा प्रिन्सराजको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ भने भतिजो राजलाई थप उपचारको लागि बीएण्डबी अस्पताल काठमाडौँंमा लगिएको प्रहरीले जनाएको छ। सोमबार आफ्नो घर मटिहानी नगरपालिका–७ बाट मोटरसाइकलमा चढी जिल्ला सदरमुकाम जलेश्वरतर्फ आउँदै गरेका तीनै जनालाई विपरीत दिशाबाट जाँदै गरेको बा ३च ५८०२ नम्बरको टाटासुमोले जलेश्वर न पा४ स्थित सडकमा ठक्कर दिएपछि उनीहरु गम्भीर घाइते भएका हुन्। दुर्घटनापश्चात टाटासुमोका चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको छ। 

प्रकाशित मिति: : 2020-07-28 14:32:29

प्रतिकृया दिनुहोस्