‘दिनभरि कुदायो, साहूलाई साँचाे बुझायाे’

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि १२० दिनसम्म गरेको लकडाउन खुलेको छ।

लकडाउन खुलेसँगै पछिल्लो समय राजधानीमा संक्रमितको संख्या बढ्न थालेको छ। विगतका दिनमा आफ्नो टेम्पो चलाएर घर व्यवहार चलाइरहेका व्यवसायीहरू अहिले अस्तव्यस्त बनेका छन्।

लकडाउन खुलेपछि पहिले झैँ कमाई हुने सोच राखेका उनीहरू अहिले निराश छन्। सुरक्षा सतर्कतालाई हेरेर सरकारले लागू गरेको नियमहरू पालना गर्दा उनीहरू समय कटाउनकै लागि मात्र टेम्पो चलाइरहेको जस्तो भइरहेको छ।

यसैबिच बिएल नेपाली सेवाले उपत्यकाका केही टेम्पो चालकसँग कुराकानी गरेको छ।

सन्जे तामाङ

विगतमा दिनहरुमा आफ्नो काममा रम्दै आएका सन्जे आजकल खासै रमाउन सकेका छैनन्। ८ महिनादेखि टेम्पो चलाउँदै आएका उनी लकडाउनले आम्दानी स्वात्तै घटेको बताउँछन्। लकडाउन हुँदा आफूले गर्दै आएकझ पेशाबाट घाटा लागेको उनले बताए।

विगतका दिनहरुमा अनामनगरदेखि सुन्धारासम्म ८ टिपसम्म चलाएर राम्रै घर खर्च जोहो गर्ने उनी अहिले त्यतिनै टिप चलाए पनि कमाई शून्य प्राय छ।

लकडाउनभन्दा अगाडि दैनिक ५ हजारसम्म कमाउने उनी साहुलाई चार हजार दिएर पनि १ हजारसम्म बचाउने गर्थे। तर अहिले दैनिक कमाई नै १ हजार मुस्किलले हुँदा साहुलाई कति दिने आफू कति लिने अन्यौल रहेको बिएल नेपाली सेवासँग गुनासो गरे।

‘पहिले साहुलाई ४ हजार दिँदा पनि आफूसँग १ हजारजति नै बच्ने गर्थ्यो तर अहिले दिनमा हजार देखि १२०० मात्र कमाउँदा त्यसकै आधा रकम साहुलाई बुझाउने गरेको छु, अरू कमाई केही छैन,' उनले भने।

सरकारले हालै लकडाउन खोले पनि संक्रमणको डर कायमै रहेकाले पहिलेझैँ मान्छेको चहलपहल नभएको उनको बुझाई छ। 'आजकल मान्छे नै हुदैन्। १/२ जना मात्रै हुन्छन्। कहिले त त्यति पनि हुँदैन्। खाली नै दौडाउनुपर्छ,' उनले भने, '६ जनालाई मात्र बस्न अनुमति दिए पनि त्यति पनि मान्छे हुन्नन्।।'

मान्छे नै नभए पनि ज्यानको जोखिम मोलेर आफूले काम गरेको उनको दाबी छ। 'खानको लागि त गर्ने पर्‍यो नि' उनी भन्छन्, 'काम गर्दा सावधानी स्वरूप स्यानीटाइजर, मास्क र पञ्जाको प्रयोग गर्ने गरेको छु।'

बुद्ध लामा

१२ वर्षदेखि टेम्पो चलाउँदै आएका बुद्ध अहिले अस्तव्यस्त बनेका छन्। लकडाउन खोलेर सार्वजिक यातायात चलाउन दिए  पनि पहिलेको जस्तै नभएको उनले सुनाए। विगतका दिनहरुमा ७ टिप टेम्पो चलाएर ४ हजारसम्म कमाउने उनी अहिले ८/९ सयमै चित्त बुझाउन परेको बताउँछन्। 'पहिले कमाई पनि हुन्थ्यो, साहुलाई पनि ३२ सयसम्म दिने गरेको थिएँ' उनले बिएल नेपाली सेवासँग भने, 'अहिले त दिनमा हजार हुन् पनि मुश्किलै छ।'

अहिलेको अवस्थामा साहुलाई आफ्नै कमाई अनुसारको भाडा बुझाउने गरेको बताउदैं उनी भन्छन्, 'दिनमा ७-८ सय बुझाउने गरेको छु। उनीहरुले कमाई छैन् भनेर बुझेकै छन्।' पहिले आफुले १२ जनासम्म राख्ने टेम्पोको सिटमा अहिले भने मात्र ६ जनालाई बस्न दिने गरेको उनले सुनाए। 'धेरै मान्छे राख्न अनुमति नै छैन्। टेम्पो चढने मान्छे पनि हुदैन्' उनले भने, 'कोरोनाको त्रास सकिएकै छैन्।'

किशोर श्रेष्ठ

सिन्धुपाल्चोक घर भएका किशोरले १० वर्षदेखि टेम्पो चलाउँदै आएका छन्। काम गरेको १ दशक बितिसक्दा आफूले गरेको काममा सन्तुष्ट रहेका उनी आजकल भने असन्तुष्ट भएका छन्। कारण बनेको छ, कमाईमा घाटा।

लकडाउन भन्दा पहिले राम्रै कमाई गरेका उनले बिएल नेपाली सेवासँग भने, 'अहिले लकडाउन खुलेता पनि कमाईमा भने बेक्र नै लागेको छ।’

दिनमा १० टिभ टेम्पो चलाएवापत ५ हजार कमाउने उनी विगतलाई स्मरण गर्दै भन्छन्, 'साहुलाई ४ हजारसम्म बुझाउने गरेको थिएँ। कुनै समस्या थिएन। तर अहिले अवस्थामा भने दिनको मुस्किलले १५ सय कमाइ हुन्छ।’

उनले त्यो कमाई मध्ये २/३ सय आफैंले राखेर बाँकी पैसा सबै साहुलाई बुझाउने गरेका छन्।

पहिले र अहिलेको तुलनामा आफूले धेरै घाटा व्यहोर्नुपरेको उनको दाबी छ। सरकारले लकडाउन खोलिसके पनि सामाजिक दुरी कायम राख्न १२ जना अट्ने सिटमा ६ जना मात्रै बसाउने गरेको उनले बताए।

'मान्छे धेरै राख्न दिएका छैन्। त्यसैले ५० % गाडी भाडा बढाएका होलान्', उनले भने। यात्रुबाट ५० % भाडा लिनु आफूलाई न्यायचित नलागे पनि बाध्यताले लिनुपरेको उनको गुनासो छ।

मानबहादुर तामाङ

रामेछापका स्थायीबासी उनी अहिले काठमाडौंको शंखमुलमा बसेर टेम्पो चलाउन थालेको ६ वर्ष पुगिसकेको छ।

अनामनगरदेखि सुन्धारासम्म विगतका दिनमा ८ टिप टेम्पो चलाउने उनी अहिले ४ टिपसम्म चलाउने गरेका छन्। पहिलेका दिनमा ४ देखि ५ हजारसम्मको कमाई गर्ने उनी अहिले मुस्किलले ५ देखि ६ सय मात्रै कमाई हुने बताउँछन्।

आफूले दिनभरी खटेर कमाएको पैसा मध्ये सबै साहुलाई बुझाएर एक-दुई सय राख्ने गरेको उनले सुनाए। दिनमा मात्र सय कमाईले नपुग्ने बताउँदैं उनले भने, 'घरमा बसौं भने पनि अल्छी लाग्छ। काम गरौं भने पनि कमाई छैन्।'

आफूले साहुले भनेकै आधारमा टेम्पो चलाउन थालेको उनले बताए। 'साहुले टेम्पो चलाउ भन्दा चलाउन परिहाल्यो' उनी भन्छन्, 'कमाई गर्ने भाडो नै त्यही हो।' विगतका दिनहरुमा टेम्पो चलाएवापत मार्षिक पाउने तलब पाउन वन्चित भएकोमा आफूलाई दुःख लागेको उनले बताए। 'पहिले त महिनैपिच्छे तलब पाइन्थ्यो, तर अहिले पाइदैन्' उनले भने, 'लकडाउनले चौपट बनायो।'

पहिले अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा आफूले हालै घाटा खेप्नुपरेको उनको दाबी छ। '१२ जना अट्ने सिटमा ४/५ जना मात्रै राख्ने गरेको छु। सामाजिक दुरी कायम गर्ने पर्यो' उनले भने। आफूले ४/५ जनालाई मात्र बस्न अनुमति दिए पनि सिट खाली नै हुने गरेको उनको भनाइ छ। 'मान्छे नै हुँदैनन्। कसरि हुन्छ, टेम्पोमा बस्ने ४/५ जना।' सरकारले बढाएको ५० % गाडी भाडा कत्ति पनि उचित नभएको बताउदै उनले भने, 'बढी भाडा बढाउनु ठिक होइन र लिनु पनि उचित हुँदैन्।'

आफूलाई बढी भाडा लिनु उचित नलागेका कारण यात्रुसँग जबरजस्ती बढी भाडा नमागेको बताउँदैं उनले भने, 'दिए थाप्छु, नदिए माग्दिनँ, जति दियो त्यतिमै सन्तुष्ट छु।'

प्रकाशित मिति: : 2020-07-29 15:36:00

प्रतिकृया दिनुहोस्