चीनले सर्वसाधरणको आवतजावतका लागि नेपालसहित छिमेकी देशसँगका सीमा नाका खोल्दै

चीनले सर्वसाधरणको आवतजावतका लागि नेपालसहित छिमेकी देशसँगका सीमा नाका खोल्ने भएको छ।

सोमबार चीन, नेपाल, अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीबीच भएको टेली कन्फ्रेन्स बैठकपछि यो निर्णय गरिएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले बताएका छन्।

प्रवक्ता वेनविनले मंगलबार बेइजिङमा आयोजित नियमित पत्रकार छलफलमा चार देशका विदेशमन्त्रीबीच एक देशका नागरिकलाई अर्को देशमा प्रवेश दिने सहमति भएको बताए। 

उनका अनुसार यो निर्णयसँगै चीनले नेपालसहित पाकिस्तान र अफगानिस्तानका नागरिकलाई चीन प्रवेशमा फास्ट ट्रयाक र ग्रीन च्यानलको सुविधा उपलब्ध गराउने भएको छ। 

‘जनताको जनजीवनलाई सामान्य बनाउनका लागि व्यवसाय तथा अन्तरसीमा व्यापारलाई खोल्दै लैजानुपर्छ। हामीले निश्चित मापदण्ड पूरा गरेर अन्तरसीमा आवतजावत खुला गर्नेछौँ। त्यसका लागि हामीले फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्ने छौँ,’ उनले भने।

यसअघि चीनले अन्तर्राष्ट्रिय उडान खोल्दै आगामी सातादेखि सातामा दुई दिन चार उडान काठमाडौंका लागि भर्ने तयारी गरेको छ। 

काेराेना भाइरसविरुद्ध संयुक्त रूपमा लड्ने सहमति 

सोमबार चार देशका विदेशमन्त्रीबीच भएको छलफलमा काेराेना भाइरसविरुद्ध संयुक्त रूपमा लड्ने सहमति भएकाे विदेशमन्त्री  यीले जानकारी दिए।

‘हामी अन्य पक्षसँग परीक्षण, उपचार र खाेप तथा औषधिको अनुसन्धानमा मिलेर काम गर्न तयार छौँ,‘ उनले भने।

उनले चारै देश सूचना, सञ्चार, नीतिगत समन्वय र साझेदारीका कामलाई मजबुत बनाउने विषयमा सहमति भएको पनि जानकारी दिएका छन्।

चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत आर्थिक वृद्धि, सामाजिक उत्थानका साथ  स्थायित्व, औद्योगिक तथा निर्यातलाई बढवा दिने उनले बताए। 

प्रकाशित मिति: : 2020-07-30 06:46:10

प्रतिकृया दिनुहोस्