बाँकेमा पुनः लकडाउन, शनिबार रातिदेखि लागू हुने

बाँके प्रशासनले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पुनः लकडाउन गर्ने भएको छ। सरकारी कार्यालयका ११ सहित एकैदिन २७ जनामा कोरोना पुष्टि भएपछि प्रशासनले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पुनः लकडाउन गर्न लागेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

लकडाउन खोलेसँगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि शनिबार राति १२ बजेदेखि मंगलवार बेलुकीसम्म लकडाउन गर्ने निर्णय भएको उपाध्यायले बताए।

उनले त्यसपछिको परिस्थिति हेरेर फेरि लकडाउन गर्न सकिने बताए। शनिबार राति लागू हुने लकडाउन पहिलेको जस्तो खुकुलो नहुने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। उनले भने, ‘शनिवार रातिदेखि लागू हुने लकडाउन कडा हुन्छ। लकडाउनको उलंघन गर्नेलाई कडा कारवाही हुन्छ,’ उनले भने। उनले बाँकेमा कोरोना संक्रमणको मिटर उकालो लागेपछि न्यूनीकरणका लागि पुनः लकडाउन गर्न परेको बताए।

शुरुमा चार दिनका लागि लकडाउन हुन्छ। त्यसपछि अवस्था हेरेर थप गर्न गरिनेछ,’ उनले भने। 

एकै दिन २७ जनामा कोरोना संक्रमण पुष्टि

एकै दिन बाँकेमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। 

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङका अनुसार  नेपालगञ्ज उप –महानगरपालिकाका १६ सहित आन्तरिक राजस्व कार्यालयका ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

 नेपालगञ्जको वडा नम्बर १०, ११, १३ र १९ ५ जना महिला सहित ११ जना पुरुषमा संक्रमण देखिएको हो। 

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले राजस्व कार्यालयमा देखिएका कर्मचारी  बाँके सहित कर्णाली  प्रदेश र सुदुरपश्चिम जिल्लाका समेत रहेको जानकारी दिए। 

यो सँगै बाँकेमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ।

प्रकाशित मिति: : 2020-07-30 13:58:16

प्रतिकृया दिनुहोस्