भारतमा गोर्खाली सेनाका छोराछोरी पढ्ने स्कुल–कलेजको स्तरोन्नतीका लागि रक्षा मन्त्रीलाई सांसद विष्टको ध्यानाकर्षण

भारतको सीमा रक्षाका लागि बलिदान दिने गोर्खाली परिवारको छोराछोरीको अध्ययन–अध्यापन गर्ने स्कुल तथा कलेजको अवस्था दयनीय भएको भन्दै लोक सभा सांसद राजु विष्टले रक्षामन्त्री राजनाथ सिंहलाई ध्यानाकर्षण गराएका छन्।

बिहीबार राजधानी नयाँ दिल्लीमा रक्षामन्त्री सिंहलाई भेटेका विष्टले उत्तरपूर्व भारत तथा उत्तराखण्डस्थित देहरादुनमा स्थापना भएको गोर्खा सैन्य स्कुल तथा कलेजको अवस्था कमजोर भएको ध्यानाकर्षण गराए।

दार्जीलिङबाट सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) बाट लोक सभा चुनाव जितेका बिष्ट भारतमा गोर्खालीहरूको प्रतिनिधित्व गर्ने सांसदको रूपमा परिचित छन्।

रक्षामन्त्री सिंहलाई ध्यानाकर्षण पत्र दिएपछि बिएल नेपाली सेवासँग उनले भने, ‘आदरणीय रक्षा मन्त्रीसँग राम्रो कुरा भएको छ। उहाँलाई मैले दार्जीलिङको पहाड, तराई र डुवर्सका नेपाली भाषी जनताले देशको सम्प्रभूताका लागि अनेकौं मोर्चाबाट लडेको स्मरण गराएँ। र, उहाँहरूको छोराछोरीको शिक्षामा राज्यले अझ् बढी चासो दियोस् भन्ने कुरा राखेँ।’

भेटका क्रममा उत्तराखण्डको देहरादुन छाउनीस्थित गोर्खा मिलिट्री कलेजको अवस्था दुर्भाग्यपूर्ण भएको जानकारी पनि गराए। ‘यो कलेजमा सन् २०१७ मा ठेक्का समाप्त भएपछि १ दशमलव ५९ करोड रुपैयाँ बक्यौंता रहेको छ। यसैले कलेज प्रशासनलाई अहिले नोटिस आएको छ,’ उनले भने, ‘मैले रक्षा मन्त्रीसँग बक्यौंता रकम मिनाह गर्न तथा ३० वर्षका लागि पुरानै दरमा ठेक्का प्रदान गर्न अनुरोध गरेको छु।’

यस विषयमा उत्तराखण्डमा मुख्यमन्त्री त्रिवेन्दरसिंह रावतलाई पनि अनुरोध पत्र लेखेको उनले बताए।

‘यो कलेजबाट नामुद खेलाडी तथा आर्मीहरूले जन्म लिए। यसको अस्तित्वलाई कायम राख्नु हामी सबैको दायित्व हो,’ उनले भने। रक्षामन्त्रीले आफ्नो कुरालाई गम्भीरताका साथ लिएको उनले बताए।

‘उहाँले सम्बन्धित निकायलाई निर्देशन दिने भन्नुभएको छ। दार्जीलिङको हकमा ममता बेनर्जीको सरकारसँग सुझाव लिने कुरा पनि भएको छ,’ विष्टले बताए। भारतीय सेनामा राफेलको आगमनका लागि आफूले रक्षा मन्त्रीलाई धन्यवाद दिएको पनि उनले बताए।

प्रकाशित मिति: : 2020-07-30 17:56:57

प्रतिकृया दिनुहोस्