छिमेकीलाई चिड्याएर होइन्, मित्रवत व्यवहार गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यावसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्। सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले छिमेकी तथा मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्न नसक्ने बताएका हुन्।

भारतसँग पछिल्लो समय देखिएको सिमा विवादलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिदै उनले छिमेकीलाई चिड्याएर होइन्, उनीहरुसँग मित्रवत व्यवहार देखाउनुपर्ने बताए।

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले छिमेकी तथा मित्रराष्ट्रको विषयमा सधैँ चिड्याउने ढङ्गले उटपट्याङ बोल्ने गरेकाले परराष्ट्र सम्बन्ध नै बिग्रिन थालेको आरोप लगाए। पूर्वसञ्चारमन्त्री राजकिशोर यादव, प्रदेश नं २ का आर्थिक मामिला तथा कानूनमन्त्री विजयकुमार यादव लगायतले छिमेकी देशसँगको सम्बन्धलाई सहज बनाउनुपर्नेमा जोड दिए। विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई पूर्वप्रधानमन्त्री डा भट्टराई, अध्यक्ष यादव लगायतले पार्टी प्रवेश गराए।

प्रकाशित मिति: : 2020-07-30 23:16:43

प्रतिकृया दिनुहोस्