शहीद जोशीको स्मृति दिवस

शहीद मनोज जोशीको मृत्यु भएको २९ वर्ष पूरा भएको छ। विसं २०४८ साउन १५ गते बुधवार नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीले दिक्तेल बजारमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी हुँदा उनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

तत्कालीन सरकारसँग भएको सम्झौताअनुसारको सेवा सुविधा नदिइएको विरोधमा कर्मचारीको अगुवाइमा निकालिएको जुलुसमा सहभागी उनलाई दिक्तेलस्थित हेलिप्याडमा प्रहरीको गोली लागेको थियो। विरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले चलाएको गोली जोशीलाई लागेको घटनाका प्रत्यक्षदर्शी एवं सत्तारुढ दल नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) का नेता सुमन श्रेष्ठले बताए। आन्दोलनका क्रममा मृत्यु भएका जोशीलाई विसं २०७४ माघ २२ गते शहीद घोषणा गरिएको थियो। सरकारविरुद्धको आन्दोलनमा सहभागी भएको अभियोगमा १३ कर्मचारी जागिरबाट हटाइएका थिए।

सोही दिनको स्मरणमा खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रुपमा मनाउँदै आएको छन्। दिक्तेलका बुवा नारायणप्रसाद जोशी र आमा अम्बिका जोशीको कान्छो छोरा मनोज विसं २०३० असोज २३ गते जन्मिएका थिए।

वास्तविक नाम ‘सर्मेन्द्र’ भए पनि मनोजका नामले परिचित जोशी इन्द्रेणी सांस्कृतिक समाज तथा युवा सङ्गठनमा आवद्ध थिए। सामाजिक काममा क्रियाशील जोशी जिल्लाका एक कुशल खेलाडीका रुपमासमेत परिचित थिए। विगतका वर्षमा सप्ताहव्यापीरूपमा मनोजमार्ग सरसफाइ, अस्पतालका बिरामीलाई फलफूल वितरण, व्याटमिन्टन, चेस, कविता, गजल र हाजिरीजवाफ प्रतियोगितालगायतका कार्यक्रम गर्दै स्मृति दिवस मनाउने गरिएकामा यसपल्ट कोभिड–१९ का कारण बिहीबार जोशीको समाधिमा माल्यार्पण एवं श्रद्धाञ्जलिसभा मात्र गरिएको छ। जोशीलाई शहीद घोषणा गर्ने माग पूरा भए पनि दोषीमाथि अझै कारवाही हुन बाँकी रहेको प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताए।

श्रद्धाञ्जलिसभामा प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, कांग्रेस नेतृ डिल्लीकुमारी आचार्य, नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य ध्रुवकुमार कार्कीलगायत जोशी विविध व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो। कार्यक्रममा शहीद मनोज जोशीकी आमा अम्बिका, संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’, दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, नेकपाका जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दङ्गाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललगायतले दिक्तेलस्थित शहीद मनोज जोशीको शालिकमा माल्यार्पण गरेका थिए।

यसैबीच निजामती कर्मचारीका रूपमा ४० वर्ष सेवा गरेर सेवा निवृत्त हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका श्यामकुमार सैंजूलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ। विसं २०३३ देखि २०७३ सम्म निजामती सेवामा रहेर देश र जनताप्रति समर्पित भएकामा सैंजूलाई पाँच हजार रुपैयाँ राशिको ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरेको हो। स्मृति दिवसको अवसरमा बिहीवार दिक्तेलमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले सैंजूलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो। निजामती सेवाको माध्यमबाट मात्र नभएर विभिन्न सामाजिक सङ्घसंस्थाको नेतृत्व गर्दै इमान्दारिता एवं बफादारिताका साथ देश र समाजलाई दिएको योगदानको कदरस्वरुप सैंजूलाई पुरस्कृत गरिएको जनाइएको छ। रासस

प्रकाशित मिति: : 2020-07-31 11:17:46

प्रतिकृया दिनुहोस्