विदेशका नेपालीको चौथो चरणको उद्धार शुरु, आज सात ठाउँबाट चार्टर्ड उडान

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ। कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि २४ साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो।

नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन्। नेपालीलाई घर फर्काउन विभिन्न मुलुकका एयरलाइन्सको पनि उडान तालिका बनाएका छन्।

आज चीनको कुनमिङ, बैंकक, कुवेत, दुबई, दोहा, अबुधाबी र मलेसियाबाट चार्टर्ड उडान हुँदैछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवै गरी १३ उडान हुनेछन्। नेपाल एयरलाइन्सले कुवेत र दुबईबाट चार्टर्ड उडान गर्दैछ। कुवेतबाट दुई उडान हुनेछ। हिमालय एयरलाइन्सले दोहा र अबुधाबीबाट नेपाली काठमाडौँ ल्याउनेछ।

आज बिहान ७ः०० बजे हिमालय एयरलाइन्सको जहाज चीनको कुनमिङ र श्री एयरलाइन्सको जहाज बैंकक प्रस्थान गरिसकेका छन्। मालिन्दो एयरले क्वालालम्पुरबाट आजै नेपाली ल्याउँदैछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको तालिकाअनुसार नेपाल एयरलाइन्सले यो अवधिसम्म जम्मा १८ उडान गर्नेछ। युएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेशियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ।

हिमालयले पनि २३ साउनसम्म कूल १८ उडान गर्ने जनाएको छ। यो एयरलाइन्सले चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्नेछ।

नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्समध्ये जजिरा एयरले कुवेत, इतिहाद एयरले अबुधाबी, एयर अरेबियाले सारजाह, फ्लाइ दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उडान गरी नेपाली फर्काउनेछन्। सोही अवधिमा मालिन्दो एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ।

सरकारले गत १६ जेठमा तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयअनुरुप चौथो चरणको उडानका लागि ५४ वटा उडान अनुमति दिइएको छ।

अहिलेसम्म ३६ हजारभन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् । सरकारले आगामी १ भदौदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: : 2020-07-31 13:11:39

प्रतिकृया दिनुहोस्