आइपीएल खेल्ने खेलाडीले १४ दिनमा ४ वटा परीक्षण गर्नुपर्ने

एजेन्सी

मुम्बई

कोरोना भाइरसको संक्रमण बीच हुन लागेको इन्डियन प्रिमियर लिग (आइपीएल) को १३ औं संस्करण युनाइटेड अरब इमिरेट्स (युएई) मा हुँदैछ। यसको तयारी पनि सुरु भइसकेको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले यसको तयारी पनि गरिसकेको छ। 

कोरोनाका कारण यसपालि खेलाडी तथा पदाधिकारीले कडा नियमको पालना गर्नुपर्ने छ। बीसीसीआईका अनुसार १४ दिनको क्वारेन्टाइनमा खेलाडीले ४ वटा कोरोना टेस्ट गर्नुपर्ने छ। यस्तै, ड्रेसिङ रूममा १५ भन्दा बढी खेलाडी बस्न पाउने छैनन्। लिग १९ सेप्टेम्बरबाट सुरु हुनेछ। 

भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार खेलाडीका श्रीमती, प्रेमिका तथा फ्रेञ्चाइजहरूले ‘बायो सेक्योर प्रोटोकल’ को पालना गर्नुपर्ने छ। ‘बायो सेक्योर’ आएको खण्डमा उनीहरूलाई टिमसँग घुलमिल हुन दिइने छैन। 

खेलाडीको श्रीमती वा प्रेमिका युएई जाने कुराको निर्णय फ्रेञ्चाइजले गर्नेछ। यसमा बीसीसीआईको कुनै दबाब नहुने बोर्डले स्पष्ट पारिसकेको छ। तर, ‘बायो सेक्योर प्रोटोकल’ को नियम भने पूर्णरूपमा पालना गर्नुपर्ने बताएको छ। 

बीसीसीआईले यो नियम वेष्ट इन्डिज र इंग्ल्याण्डबीच हालै सम्पन्न टेस्ट शृंखलाका लागि इंग्लिस क्रिकेट बोर्डले तयार पारेको कोरोना सम्बन्धि नियमको आधारमा गरेको हो।

बीसीसीआईले खेलाडीहरू होटलमा प्रवेश गरेपछि बाहिरबाट खेलाडी थप गर्न नपाइने स्पष्ट पारेको छ।

प्रकाशित मिति: : 2020-07-31 16:55:47

प्रतिकृया दिनुहोस्