नेपाल चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्ष, मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुने राष्ट्रपति भण्डारीकाे विश्वास

 राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन्। 

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सव अवसर पारेर आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाउँदै उनले राष्ट्रपति सीले गत अक्टोबरमा गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण गरेकी छन्।

सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गरेकी छन्।

उनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गरेकी छन्।
 

प्रकाशित मिति: : 2020-08-01 07:46:19

प्रतिकृया दिनुहोस्