मुर्मी भोट्या होइनन्, तामाङ

हिमाल खबर

काठमाडौं

ऐतिहासिक तथ्यहरुले शासकवर्गले लामो समयसम्म ‘मुर्मी भोट्या’ भनेका तामाङ काठमाडौं उपत्यकाका प्राचीन वासिन्दा भएको आधार दिन्छ।

अहिले जसले आफ्नो जातथरमा तामाङ लेख्छन्, उनीहरुलाई तत्कालीन शासक वर्गले ‘मुर्मी भोट्या’ जातथरले सम्बोधन गर्थे। अधिकांश ऐतिहासिक कागजपत्रहरुमा पनि तामाङको ठाउँमा मुर्मी भोट्या नै उल्लेख भएको पाइन्छ।

तामाङहरु नेपालका प्राचीन जाति हुन् भनेर पुरातत्वविद् जनकलाल शर्माले प्राग्ऐतिहासिक पुरातात्विक अन्वेषणबाट पुष्टि गरेका छन्।

शर्माले ‘हाम्रो समाज एक अध्ययन’ (२०७५ः३८८–३९२)मा रुसी प्राग्ऐतिहासिक पुरातत्वविद् डा. अनातोली याकोब्लाभ शटेन्कोले गरेको अनुसन्धानसँग जोडेर तामाङको प्राचीनता पुष्टि गर्ने प्रयत्न गरेका हुन्।

रुसको लेनिनग्राद विश्वविद्यालयका यी प्राग्ऐतिहासिक पुरातत्वविद् डा. शटेन्कोले २०३४ सालमा नेपालमा गरेको अध्ययन क्रममा काठमाडौं उपत्यकाको बुढानीलकण्ठ दक्षिणपूर्वको धोबीखोलाका किनारमा केही पाषाण हतियारहरु फेला पारे। यसबाट उनी उपत्यकामा मध्यपाषाण युगदेखि मानवबस्ती भएको निष्कर्षमा पुगे।

शर्माका अनुसार पाषाणकालीन मंगोलियनहरु तिब्बत हुँदै नेपाल आउँदा काठमाडौंमा आइपुगेको देखिन्छ। शर्माका अनुसार, उपत्यकामा बाहिरिया प्रवेशपछि तामाङहरु उपत्यका वरिपरिका भूभागतिर छरिएर रहन थाले।

तामाङहरुको प्राचीन इतिहास पुष्टि गर्ने आधारका रुपमा उपल्लो मुस्ताङमा पाइएको एक वंशावलीलाई पनि लिन सकिन्छ।

प्रकाशित मिति: : 2020-08-01 23:28:56

प्रतिकृया दिनुहोस्